काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को बुधवार भव्य समारोहबीच उद्घाटन हुँदै छ । अपराह्न ४ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको दीप ‘फ्लेम अफ युनिटी’ बालेर भ्रमण वर्षको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
उद्घाटनअघि र्याली तथा सामाजिक संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतबाट मार्च पास हुने भ्रमण वर्षको सचिवालयले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा नेपालको कलासंस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिका रूपमा मन्तव्य तथा विभिन्न राजनीतिक दलका नेताको भिजुअल शुभकामना प्रसारण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । यस्तै सातै प्रदेशमा मुख्यमन्त्रीहरूले भ्रमण वर्षको उद्घाटन गर्नेछन् ।
काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्रीहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । सरकारले जनवरी ७ मा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम बनाएको छ ।
भ्रमण वर्षको शुभारम्भले नेपालको पर्यटनमा नयाँ आशाको दियो सञ्चार गर्ने मन्त्री भट्टराईले बताए । नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास तथा राष्ट्रिय एकता प्रदर्शन गर्न भ्रमण वर्ष फलदायी हुने उनले बताए ।
भ्रमण वर्षको उद्घाटनका लागि आवश्यक सबै तयारी पूरा भएको र अपराह्न ४ बजे औपचारिक उद्घाटन हुने भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिए । उद्घाटन समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सिओफिङ, भारतका पर्यटन मन्त्री प्रह्लाद सिंह पटेल, जमैकाका पर्यटन मन्त्री एडमन्ड वार्टलेट, म्यान्मारका यु ओन मौग मंगलवार नै काठमाडौं आइसकेका छन् । समारोहमा सहभागिता जनाउन नसक्ने अन्य देशका हकमा नेपालस्थित राजदूतावासका राजदूत तथा प्रमुखहरूले सहभागी हुनेछन् यस्तै कार्यक्रममा १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।
सन् १९९८ मा नेपाल भ्रमण वर्ष आयोजना गरेको नेपालले यसअघि सन् २०११ मा पनि भ्रमण वर्ष मनाएको थियो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ९७ हजार ५७१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने तयारी पनि गरिरहेको छ । सरकारले भ्रमण वर्षका लागि रू. ६१ करोड ७४ लाख ५७ हजार बजेट स्वीकृत गरेको छ । भ्रमण वर्ष उद्घाटनका लागि सचिवालयले २ करोड रुपैयाँ खर्च गर्दै छ ।
प्रतिक्रिया दिनुहोस