काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार २१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणलाई सग्लै राख्नुपर्छ वा टुक्र्याउनुपर्छ भन्ने विषय प्रमुख मुद्दाको रूपमा अगाडि आएको छ ।
सरकारले नियामक निकाय र सेवा प्रदायक अलग गर्ने नयाँ ऐनको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको अवस्थामा यो मुद्दा सतहमा आएको हो । सरकार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र यूरोपेली संघ (ईयू)को चासो तथा विश्वव्यापी अभ्यासको आधारमा पनि प्राधिकरण टुक्र्याउने तयारीमा छ । ऐनको मस्यौदा मन्त्रिपरिषद्मा गइसकेको अवस्थामा कर्मचारी युनियन भने प्राधिकरण टुक्र्याउन नदिने भन्दै चरणबद्ध आन्दोलनमा छ ।
वार्षिकोत्सव कार्यक्रममा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष श्रवण यादवले यूरोपेली संघको प्रभावमा परी प्राधिकरण टुक्र्याउने प्रयास गरिएको भन्दै यो देशकै लागि घातक भएको बताए । उनले सरकारले जबरजस्ती गरे आन्दोलन गरेरै भए पनि यो अभियान सफल हुन नदिने चेतावनी दिए । ‘विदेशीको प्रभावमा परेर सरकार एकपछि अर्को गर्दै प्राधिकरणलाई धराशयी बनाउने काम गर्दै छ । यो अभियान सफल हुन दिँदैनौं । तालाबन्दी, हड्तालदेखि आवश्यक परे जेल जान तयार छौं,’ मन्त्रीकै अगाडि उनले खुला चुनौती दिए ।
पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय महत्त्वका विषयमा कसैको लहडमा वा प्रभावमा परेर गलत नियतले निर्णय नलिएको र कर्मचारीको धम्कीले विकास नरोकिने बताए । ‘संस्था अलग गर्दा कर्मचारीको सेवासुविधामा कुनै असर नपरोस् भन्नेमा हामी सचेत छौं । तर संरचनागत परिवर्तन र विकास गर्न खोज्दा बन्द, हड्ताल, मसाल जुलुश र घेराबन्दीका धम्कीले विकास रोकिँदैन । आन्दोलनका यस्ता गतिविधि हामीले धेरै ग¥यौं । अबको पुस्ता सृजनशील काममा लाग्ने हो,’ उनले भने । अत्यावश्यक सेवामा हड्ताल भए त्यसबाट उत्पन्न हुने परिणामको भागीदार बन्न चुनौती दिँदै उनले कुनै क्षति भए त्यो आन्दोलनकारीबाटै भराउने चेतावनी दिए ।
मन्त्री भट्टराईले शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप पनि नियामक निकाय र सेवा प्रदायक अगल गर्न आवश्यक भएको धारणा राखे । ऐनको मस्यौदा सार्वभौम संसद्समक्ष पुगेकाले संसद्ले आवश्यक ठाने कानून बन्ने र नठाने नबन्ने भन्दै उनले प्राधिकरण अलग गर्न हुन्न भन्ने विषयमा आफू सहमत नभएको तर्क गरे ।
कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारीले रचनात्मक कामका लागि बाटो सधैं खुला रहने बताए । कर्मचारीलाई आफूले २० वर्ष संस्थामा बिताएर के गरेँ भनेर समीक्षा गर्न आग्रह गर्दै उनले बदलिँदो परिवेशमा आफूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने औंल्याए ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई क्षेत्रमा सुरक्षा प्रमुख मुद्दा हुने भएकाले त्यससँग सम्झौता गर्न नसकिने बताए । उनले प्राधिकरण आउँदा दिनमा अझ सुरक्षित, स्तरीय तथा समुन्नतितर्फ उन्मुख हुने बताए ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल अहिले निर्माणको अन्तिम चरणमा रहेको पोखरेलको भनाइ छ । यस्तै पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति सन्तोषजनक रहेको तथा निजगढ विमानस्थल सार्वजनिक निजी सहभागिताको मोडलमा निर्माण गर्ने निर्णय अनुरूप नेपाल लगानी बोर्डमार्फत स्वीट्जरल्यान्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनल छनोट भएको उनले बताए । यससँगै उक्त कम्पनीसँग विस्तृत प्रस्ताव माग्ने तयारीको चरणमा रहेकाले हवाई पूर्वाधारको विकासमा उल्लेख्य प्रगति हुने उनको दाबी छ । यस्तै अन्य विमानस्थलको स्तरोन्नतिमा प्राधिकरण लागिपरेको उनले बताए ।
हवाई सेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले सरकार, नियामक निकाय र निजीक्षेत्रको उचित सहकार्यले मात्र उड्डयन क्षेत्रको विकास सम्भव हुने बताए । उनले नेपालको उड्डयन क्षेत्रका नीति निर्माण गर्दा निजी क्षेत्रको योगदानलाई पनि सम्झन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस