aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पोखराका होटेल भरिभराउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
पोखराका होटेल भरिभराउ

कास्की । पोखराका अधिकांश होटेल पर्यटकले भरिभराउ भएका छन् । अंग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्ष २०२० शुरुआतसँगै पर्यटकीय नगरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेका कारण होटेल भरिभराउ भएका हुन् । 

पुस १२ गतेदेखि १६ गते (बुधवार) सम्म यहाँ आयोजना गरिएको सडक महोत्सवका कारण पनि पोखरा आउने पर्यटकको संख्या बढेको यहाँका होटेल व्यवसायी बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेवान पोखराको आयोजनामा २१औं संस्करणको सडक महोत्सव गरिएको थियो । 

यस्तै हालै सम्पन्न १३औं सागअन्तर्गत पोखरामा सञ्चालित खेलका कारण अफसिजनमा पनि पोखरामा होटल अकुपेन्सी करीब ६० प्रतिशत पुगेको थियो । डिसेम्बर पर्यटकको लागि अफसिजन भए पनि दक्षिण एशियाली खेदकुद (साग) र लगत्तै शुरु भएको अंग्रेजी नयाँ वर्ष तथा भ्रमण वर्ष २०२० को शुरुआतमा विभिन्न कार्यक्रम भएका कारण पोखराको होटलहरूको अकुपेन्सी बढेर अहिले ८० प्रतिशत पुगेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

उनका अनुसार पोखरा क्षेत्रमा हाल पर्यटकलक्षित स्तरीय साना, मध्यम र ठूला गरी करीब ८०० होटल छन्, जसको करीब २२ हजार आगन्तुक क्षमता छ ।

प्रतिक्रिया दिनुहोस