aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

दक्षिण कोरियामा कामदारको तलब वृद्धि

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, १७ पुस २०७६
दक्षिण कोरियामा कामदारको तलब वृद्धि

काठमाडाैं । दक्षिण कोरियामा नयाँ वर्ष सुरु भएसँगै सन् २०२० का लागि कामदारको न्यूनतम तलब वृद्धि भएको छ।

गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ। कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन (झन्डै १ लाख ७५ हजार नेपाली रुपैयाँ) हुनेछ।

साथै दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन्।

त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघन्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन् । गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो।

त्लब बढेसँगै दक्षिण कोरियामा रहेका झण्डै ३५ हजार नेपाली नागरिकसँगै कोरियन र अन्य देशका कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले चुनावी प्रचारका बेला सन् २०२० सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन अर्थात झन्डै एक हजार रुपैयाा बनाउने जनाएका थिए।

सोही प्रतिबद्धताअनुसार गत वर्ष सरकाले ११ प्रतिशत तलब बढाएर १७ लाख ४५ हजार १ सय ५० वन बनाएको थियो । एक्कासि धेरै तलब बढाएको भन्दै यहाँका साना तथा मझौला उद्योगहरुले विरोध जनाएपछि यो वर्ष थोरै मात्र तलब बढाएको हो।

प्रतिक्रिया दिनुहोस