aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेपाल भ्रमण वर्ष २०२०

२० लाख पर्यटकको सुरक्षा जिम्मा २२७ जनालाई !

  • लालकाजी तामाङ
    लालकाजी तामाङ
  • विहीबार, १७ पुस २०७६
२० लाख पर्यटकको सुरक्षा जिम्मा २२७ जनालाई !

 

काठमाडौंं । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकको सुरक्षाको लागि नेपाल प्रहरीले २२७ जना प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीले काठमाडौँ भित्र १० ठाउँ र काठमाडौँ बाहिर १७ ठाउँ गरी २७ ठाउँमा उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको हो ।

पर्यटक प्रहरी भृकुटीमण्डपमा २८ जना, पोखरामा २२ देखि २४ जना र अरू ठाउँमा ६ देखि ८ जना सम्म बस्ने भएका छन् । भृकुटीमण्डपमा २४ सै घण्टा प्रहरी तयारी अवस्थामा रहने छन् । काठमाडौँ उपत्यकाका अन्य ठाउँमा ठमेल, बसन्तपुर, पशुपति, स्वयम्भू, एयरर्पोट, मंगलबजार, भक्तपुर, नगरकोट र बौद्ध जस्ता स्थानमा र काठमाडौँ बाहिर झापाको कांकड़भिट्टा , सोलुखुम्बुको लुक्ला, धनुषाको जानकी मन्दिर, पर्साको वीरगन्ज, चितवनको सौराहा, रसुवा, पोखरा, कास्की कै घुन्दु्क, मनाङको  क्यान, मुस्ताङको जोमसोम , म्याग्दीको घोरेपानी, लुम्बिनीको बेलिया, धामपुस जस्ता स्थानमा आवश्यकता अनुसार प्रहरी खटाइने पर्यटक प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले जानकारी दिए ।

भिजिट नेपाललाई प्रभावकारी बाउनको लागि नेपाल प्रहरीले एक वर्ष अगाडि देखि नै पर्यटकसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गरेको उनले बताए । प्रहरीले पर्यटकको सुरक्षाको बारेमा जानकारी गराइदिने, पर्यटकलाई नेपाल आउँदा होटेल गाइड र पर्यटक गाइडले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा बृहत् छलफल गर्ने काम गरेको उनले जानकारी दिए ।

उनले भने ‘पर्यटन वर्षलाई भनेर छुट्टै प्रहरीको व्यवस्था गरेका छैनौ । तर यो वर्ष धेरै पर्यटक आउने भएर केही व्यवस्थित चाहिँ गरेका छौँ’ । अघिल्लो वर्ष देखिनै योजना बनाएर प्रहरीलाई प्रविधि मैत्री बनाउने, सूचना केन्द्रको रूपमा विकास गर्ने, प्रहरीको क्षमतावृद्धिको लागि भाषागत टेनिङ दिने, उनीहरूप्रति कस्तो जिम्मेवारी निभाउने जस्ता क्रियाकलाप गर्दै आएको उनले बताए ।

नेपाल आउने पर्यटक ठगिने भन्दा पनि साना साना समस्यामा पर्ने गरेका छन् । विदेशी पर्यटकलाई ठग्ने, पिट्ने, परिपाटी नेपालमा नरहेको बस्नेतले बताए ।  बस्नेतले भने, ‘पर्यटकको सुरक्षाको लागि आफ्नो गस्ती भएको ठाउँमा कडाइका साथ लागेका छौ । नेपाल आएका पर्यटकले पनि अनैतिक क्रियाकलाप गर्न सक्छन् भनेर पनि हामीले निगरानी गरिरहेका हुन्छौ ।'

पर्यटक प्रहरीले टुरिजम मोबाइल एप्लिकेशन तयार पारेका छन् यो एप जुनसुकै पर्यटक नेपाल आइसकेपछि आफ्नो एन्ड्रोइड मोबाइलमा त्यो एप डाउनलोड गरी चलाउन सक्नेछन् । उक्त एपमा पर्यटकले नेपालमा रहँदा ध्यान दिनुपर्ने सम्पूर्ण सूचना र जानकारीहरू पाउन सकिन्छ ।

हरेक दिन दुई पर्यटकले हराउँछन् सामान

गत वर्ष ७ सय भन्दा माथि पर्यटकहरूले सामान हराएर प्रहरीलाई उजुरी दिएका थिए । त्यसमा ८० प्रतिशत भन्दा बढीले  पासपोर्ट र डकुमेन्ट हराएर उजुरी दिएको बस्नेतले जानकारी दिए । त्यसलाई मध्यनजर गर्दै यो वर्ष पर्यटक पुग्ने तर इन्टरनेट नपुगेका ठाउँमा यदि पर्यटकलाई गाह्रो अप्ठ्यारो पर्यो भने हटलाइन नम्बर ११४४ मा फोन गरी प्रहरीलाई खबर गर्न सकिने उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका ३ सय पर्यटकीय सवारी चालकहरूलाई तालिम पनि दिइएको छ । विशेष गरी भाडाका ट्याक्सी, रिक्सा चालकहरूलाई तालिम दिएका हो । त्यसैगरी १ सय जना होटेल सञ्चालकहरूलाई ओरेन्टेशन समेत दिईएको छ।

चीनिँया भाषा सिकेका प्रहरी जम्मा १० जना छन् भने फेन्च भाषा ८ जनाले सिकेका छन् । भर्खरै ५१ जना प्रहरीको लागि दरबन्दी थप गरिएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस