काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकले दुबईको मास्रेक बैंकबाट बाह्य व्यावसायिक ऋण ल्याउन प्रक्रिया शुरू गरेका छन् । दुवै बैंकले १/१ करोड अमेरिकी डलर (रू. १ अर्ब १३ करोड ६६ लाख) बराबरको व्यावसायिक ऋण ल्याउन नेपालमा रहेको मास्रेक बैंकको प्रतिनिधि कार्यालयमार्फत नेपाल राष्ट्र बैंकमा आवेदन दिएका हुन् ।
केन्द्रीय बैंकका अनुसार दुवै बैंकले ऋण लिनका लागि गत सोमवार राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागमा आवेदन दिएका छन् । यसअघि यस्तो ऋण ल्याउन आवेदन दिएका एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, आरएमडीसी, निर्धन उत्थान र मानुषी लघुवित्तले राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी अभाव हुन नदिन विदेशी संस्थाबाट समेत ऋण ल्याउन पाउने नीतिगत व्यवस्था गरे पनि थोरै बैंकले मात्र विदेशी ऋण ल्याउन पहल गरेको देखिन्छ । वाणिज्य बैंकलाई प्राथमिक पूँजीको ५० प्रतिशतसम्म विदेशी वित्तीय संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउनेमा अन्य बैंकभन्दा एनएमबी बैंक अगाडि देखिएको छ । एनएमबीले हालसम्म ३ विदेशी वित्तीय संस्थाबाट ४ अर्ब ५३ करोड रुपैयाँ (४ करोड डलर) बराबरको बाह्य ऋण भित्र्याइसकेको छ । एनएमबी बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी), स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनी र बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) बाट यस्तो ऋण लिएको छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले सीडीसीसँग करीब २ अर्ब २७ करोड ३२ लाख रुपैयाँ (२ करोड डलर) बराबरको ऋण ल्याउने स्वीकृति पाइसकेको छ । पछिल्लो समय विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन एनआईसी एशिया, सानिमा बैंक, सनराइज बैंक र हिमालयन बैंकलगायतले समेत चासो देखाएका छन् । हिमालयनले पनि आईएफसीबाट ऋण ल्याउन गत चैत २८ मा नै सम्झौता गरेको थियो ।
राष्ट्र बैंकले लघुवित्त संस्थालाई पनि विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरेपछि निर्धन उत्थान लघुवित्त तथा ग्रामीण लघुवित्त विकास केन्द्र (आरएमडीसी) तथा मानुषी लघुवित्तले पनि यस्तो ऋण लिन स्वीकृति पाइसकेका छन् ।
बेलायतको प्लानेट फाउन्डेशनबाट रू. १ अर्ब ८१ करोड ८५ लाख (१ करोड ६ लाख डलर) ऋण लिन स्वीकृति पाएको निर्धन उत्थान लघुवित्तले सो रकमको आधा नेपाल भित्र्याइसकेको छ । त्यस्तै आरएमडीसीले पनि आईएफसीबाट १ करोड डलर बराबरको ऋण ल्याउन अनुमति पाइसकेको छ ।
एनएमबी विदेशी साझेदारी संस्था भएको र यस्तो ऋण ल्याउन केन्द्रीय बैंकले सूचना जारी गर्नुपूर्व नै पहल गरिरहेकाले आफ्नो संस्थालाई विदेशबाट ऋण ल्याउन सजिलो भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बताउँछन् । ‘विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउँदा प्रक्रिया भने खासै झन्झटिलो भएन,’ उनले बताए ।
बाह्य ऋणमा बैंकहरू त्यति प्रोत्साहित नभए पनि आगामी दिनमा हेजिङको सुविधा र नेपालको क्रेडिट रेटिङ भएपछि त्यसको आधारमा विदेशी वित्तीय संस्थाले ऋण दिन सक्ने अपेक्षा भएको नेपाल बंगलादेश बैंकको सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन् । ‘बैंकिङ क्षेत्रको आन्तरिक स्रोतहरूले लगानीकर्ताको माग पूरा गर्न नभ्याउने स्थिति छ । बैंकको निक्षेपको वृद्धिदरले कर्जाको मागलाई धान्न नसकेपछि बैंकमा लगानीयोग्य पूँजी अभावको समस्या पनि देखिएका छन्,’ उनले बताए ।
प्रतिक्रिया दिनुहोस