aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रियसभा उम्मेदवारकाे नाम टुंग्यायाे नेकपाले, काे-काे परे ? (नामावलीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
राष्ट्रियसभा उम्मेदवारकाे नाम टुंग्यायाे नेकपाले, काे-काे परे ? (नामावलीसहित)

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले उम्मेदवारहरु टुंगो लगाएको हो । उम्मेदवारकाे लिष्टमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नाम पनि समाबेस भएकाे छ ।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय तीन दिन मात्र बाँकी छँदा नेकपाले उम्मेदवारकाे नाम टुंगाे लगाएकाे छ । निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ ।

राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार दिएकाे हाे ।

राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरू भने अझै तातेका छैनन्। अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले दुई नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको छ। प्रदेश २ बाट नेकपा र राजपाले २/२ सिटमा तालमेल गरेका छन् । 

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु

प्रदेश नम्बर- १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश नम्बर- २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश नम्बर-३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट

राष्ट्रिय सभा सदस्यको म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो । सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तह (गाउँपालिका-नगरपालिकाका)का प्रमुख र उपप्रमुख मतदाता हुन् । ७ सय ५३ स्थानीय तहका प्रमुख-उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रिय सभा मतदाता हुन्। स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।

राष्ट्रिय सभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो। तर यसपटक प्रत्येक प्रदेशबाट (क्लस्टर) मा एक एकजना मात्र निर्वाचित हुने हुँदा प्रत्यक्ष निर्वाचन जस्तै हुनेछ । २ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत भएकाले राष्ट्रिय सभा निर्वाचन नेकपाका लागि भने लाभैलाभ हुने देखिन्छ। २ नम्बर प्रदेशमा नेकपाले राजपासँग तालमेल गरिसकेको छ। २ नम्बर प्रदेशमा एक महिला, एक दलित, एक खुला र एक अल्पसंख्यक वा अपांगता भएका व्यक्ति गरी ४ वटै कलस्टरबाट ४ पद रिक्त हुँदैछ। ५७ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १३ सांसद छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन् । ३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन् । स्थायी सदन राष्ट्रिय सभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेहरूको कार्यकाल भने ६ वर्षकै हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस