एजेन्सी । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले अब ई-कमर्सको क्षेत्रमा पनि कदम राख्ने भएको छ । अम्बानीको जियो मार्टली ई-कमर्सका सर्वाधिक ठुला कम्पनीहरु अमेजन र फ्लिपकार्टलाई टक्कर दिने अनुमान लगाउन थालिएको छ ।
आफ्नो सेवाको थालनी सबैभन्दा बढी ग्राहक पाउन सकिने ग्रोसरी डेलिभरी सेवाबाट थाल्ने रिलायन्सले बताएसँगै अन्य कम्पनीको लागी अब जियो मार्ट बलियो प्रतिष्पर्धी बन्ने अनुमान लगाइएको हो । आफ्ना मोबाइल फोनका ग्राहकलाई यो सेवासँग जोड्ने रिलायन्सको योजना रहेको छ । भारतमा सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता रिलायन्सको जियो नेटवर्कमा जोडिएका छन् ।
रिलायन्सले आफ्नो ई-कमर्स बिजनेस आफ्ना दुई कम्पनि रिलायन्स रिटेल र रिलायन्स जियोलाई जोडेर चलाउने बताएको छ जसको नाम जियोमार्ट राखिएको छ । जियोमार्टले हाल आफुसँग ५० हजार त्यस्ता सामाग्रीहरु रहेको जनाएको छ जुन उ निशुल्क रुपमा एक्सप्रेस डेलिभरी मार्फत आफ्ना ग्राहक समक्ष पुर्याउन सक्छ ।
त्यसो त रिलायन्सले अन्य प्रतिष्पर्धी कम्पनीको भन्दा फरक तरिकाले स्थानीय ब्यपारी र आफ्ना फोनका ग्राहकलाई एपको माध्यमबाट जोड्ने योजना बनाएको छ । यद्यपि भारतमा अनलाईन किराना पसल अझै पूर्ण रूपमा विकसित भएको छैन। हाल, किरानाका सामान किन्नका लागि अनलाइन माध्यमबाट प्रति वर्ष ८७ मिलियन डलरको मात्र कारोबार छ । हाल कुल जनसंख्याको ०.१५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट किरानाका सामानहरु किन्दै छन् ।
जियोमार्ट ई-कमर्स विश्वमा के आश्चर्यजनक प्रदर्शन गर्न सक्षम हुनेछ ? यसको आगमनले यो उद्योगलाई कसरी असर गर्छ लगायतका प्रश्नको जवाफ अब चांडै पाइने छ ।
प्रतिक्रिया दिनुहोस