काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।
सो सडक निर्माण हुन नसक्दा सुरु हुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महत्वपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ ।
सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मङ्सिरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले निर्माण कार्य भने कछुवा गतिमा अगाडि बढेको छ । काम नगर्नेले उल्टै अनेक बहानाबाजी गर्ने गरेको पाइएको छ । वर्षायाममा काम भएन, दशैँ–तिहारले काम भएन, अनि अर्को बहाना सुरु भएको छ– चिसोले काम हुन सकेको छैन । यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका बासिन्दा र यात्रुले सास्ती व्यहोर्दै आएका छन् । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यो सडकको कुल लम्बाइ ९.३६ किलोमिटर छ ।
यसअघि गोरखापत्रसँगको कुराकानीमा मङ्सिरभित्रै सो सडकको सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएका भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले चिसोका कारण मङ्सिरभित्र निर्माण हुन नसकेको बताए ।
उनले भने, “मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसोका कारण सोचेअनुसार काम गर्न सकिएन, चिसो कम हुँदै गएपछि निर्माण कार्यले गति लिनेछ । ’’ सडकको ‘प्राइम लेयर’को काम पूरा भइसकेको बताउँदै उनले कालोपत्रे गर्ने क्रममा दुई तहमध्ये पहिलो तहको कालोपत्रे भइसकेको र अन्तिम कालोपत्रे पुसभित्र सम्पन्न गर्ने बताए।
प्रतिक्रिया दिनुहोस