भोजपुर । उज्जल भविष्यको सपना बोकेर भोजपुर आमचोक गाउँपालिका-९ दुम्माना आमबोटका रोशन मगर चार वर्षअघि कतार पुगे। उनले एक कम्पनीमा सजावट मार्बल बनाउने काम पाए। त्यहाँ करिब दुई वर्षसम्म काम गरे। काम धेरै गाह्रो थियो। पारि श्रामिक थोरै। कमाएको तलबले घरखर्च पठाउनै समस्या भएपछि निरास बने, घर फर्के।
विदेशबाट आजित बनेका रोशनले गिरीराज कुखुरा पाल्न थाले। आम्दानी राम्रो हुन थालेपछि उनले ३६ रोपनी जग्गा भाडामा लिए। उनले तरकारी र कुखुरा फर्म बढाएर ब्रोइलर र गिरीराज खुकुरा हाले। नभन्दै उनले कृषि र कुखुराबाटै विदेशको दोब्बर कमाइ गर्न थाले। अहिले उनको मासिक ६० हजारसम्म आम्दानी हुन्छ।
‘परिश्रम गरे विदेश जानुपर्दैन, यहीँ कमाउन सकिन्छ’, उनले भने, ‘राज्यले अनुदान, सहुलियत, उचित बजारीकरण, भौतिक पूर्वाधार बनाइदिए कृषि पेसामा लागेका युवालाई धेरै राहत मिल्ने थियो’, पछिल्लो समय कृषि पेसालाई नयाँ सोच र जोसजाँगरले विदेशबाट फर्केर रोशनजस्तै युवापुस्ता गाउँमै सफल उद्यमी बन्न थालेका छन्।
यस्तै भोजपुर नगरपालिका-११, आम्तेकका मोनकुमार श्रेष्ठले पनि २ वर्षअघि मलेसियाबाट फर्केर गाउँमै कृषि फर्म दर्ता गरी तरकारीबाली र बाख्रापालन थाले। ३५ रोपनी जग्गामा व्यावसायिक रूपमा तरकारीबाली र बाख्रापालन गरिरहेका मोनकुमारले घरमै बसीबसी राम्रो आम्दानी गरेका छन्। उनले भने, ‘धेरै पैसा कमाउने सपना बोकेर विदेश जाने युवाले गर्न सके आफ्नै भीरपाखामा सुन फलाउन सक्छन्’, रोशन र मोनकुमार जस्तै कृषि तथा पशुपालनलाई व्यवसायीकरण बनाएर धेरै युवा स्वदेशमै लगानी र परिश्रम गरेर विदेशको कमाइ गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस