aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इरान–अमेरिका युद्धले नेपालको अर्थतन्त्रमा कस्ताे असर पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
इरान–अमेरिका युद्धले नेपालको अर्थतन्त्रमा कस्ताे असर पर्छ ?

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु इरानको बिभिन्न ५२ स्थानमा आक्रमणको लागि तयारी अवस्थामा रहेको बताएपछि विश्वब्यापी रुपमा तेस्रो विश्वयुद्धको कालो बादल मडारिएको चर्चा शुरु भएको छ । योसंगै अमेरिका र इरानबीच अवश्यम्भावी बनेको युद्धले वर्तमान विश्वको सुस्त गतिमा रहेको अर्थतन्त्रलाई पार्ने प्रभावबारे पनि बहस शुरु भएको छ ।

यदि यो युद्धले केही भिषण रुप लियो भने त्यसको प्रभाव नेपाल जस्तो तेस्रो ध्रुवको मुलुकलाई पनि प्रतक्ष्यरपरोक्ष रुपमा पर्ने छ । अहिले नै विश्व बजारमा कच्चा तेलको मुल्यमा लगभ ४ प्रतिशतको वृद्धि देखिइसकेको छ । त्यसैगरी शुक्रबार इरानका शिर्ष कमाण्डर कासिम सुलेमानी अमेरिकी हवाई हमलामा मारिएका लगत्तै अमेरिकी डलरको मुल्य पनि बढेको छ ।

उता रुसले इरानलाई समर्थन गर्दै आफु उसको पक्षमा रहेको स्पष्ट परेको छ भने अमेरिकी हमलाको इजरायलले खुलेर स्वागत गरेको छ । यसबाट यो युद्ध अमेरिका र इरानबीच मात्र सिमित नरहने पक्का छ । यदि यी दुई देश मात्र पनि युद्धमा रहने हो भने तेलको मूल्य चाहिँ बढ्नेमा शंका छैन किनकी यी दुवै देश विश्वका ठुला तेल निर्यातकर्ता मध्येका हुन् ।

त्यसो त इरानले यस अघिपनि खुलेर तेलको व्यापार गर्न सकेको थिएन किनकी उसमाथि अमेरिकी नाकावन्दी कायम थियो । तर पनि नेपालमा समेत तेलको आपूर्तिको जिम्मा लिएको हाम्रो छिमेकी मुलुक भारतले समेत आफ्नो कुल खपतको १० प्रतिशत तेल इरानबाट नै आपूर्ति गर्दै आएको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव पर्ने निश्चित छ ।

भारतमा शुक्रबार नै पेट्रोलको मूल्य बढी सकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७० डलर प्रती ब्यारेल पुग्नेमा अब शंका छैन । यदि खाडी क्षेत्रमा थप केही समयसम्म मात्र पनि तनाव कायम रहने हो भने त्यसले विश्व अर्थतन्त्रलाई ठुलो धक्का लगाउन सक्छ । इरानले साउदी अरबका तेल उत्पादन केन्द्रलाई यसअघि पनि आफो निशानामा पार्दै आएकोमा त्यहाँका तेल भण्डार र प्रशोधन केन्द्रमा फेरी ठुला आक्रमणहरु हुन सक्छन् । त्यसो हुँदा विश्व बजारमा तेलको आपूर्तिमा कटौती हुनेमा दुइमत छैन ।

उता खाडी मुलुकहरुले तेल बिक्री गर्न प्रयोग गर्ने सामुन्द्रिक मार्ग इरानको सामुन्द्रिक क्षेत्र पर्ने हुँदा त्यहाँ यदी इरानले प्रतिवन्ध लगायो भने मात्र पनि विश्वमा तेल संकट गहिरिने अवस्था आउँछ । त्यसले पार्ने असरबाट नेपाल पनि अछुतो रहने देखिंदैन ।

त्यसबाहेक अमेरिकाले आफ्नो बढ्दो व्यापार घाटालाई सन्तुलन गर्न हतियार र युद्ध सामाग्रीहरुको ब्यापारलाई बढवा दिने जुन उदेश्यले यो युद्ध भड्काउने नियत राखेको छ त्यसले के स्पष्ट पार्छ भने चीनको विश्वब्यापी व्यापारलाई समेत उ कुनै तरहले प्रवाभित पार्न चाहन्छ । उता दक्षिणी छिमेकी भारतले आर्थिक मन्दीबाट बाहिर निस्कन गरिरहेको प्रयासलाई पनि विश्व राजनीतिमा अचानक आएको नयाँ घटनाले थप गाह्रो पार्ने पक्का छ । हाम्रा दुई छिमेकीमा पर्ने आर्थिक प्रभाव सिधा हामीमा देखिने गरेको छ ।

यसरी हेर्दा अमेरिका र इरान बिचको बढ्दो तनाब र आसन्न युद्धको मार नेपाली जनताले पनि भोग्नु पर्ने देखिन्छ । तेल र डलरको मुल्यमा हुने उतारचढावबाट शुरु हुने त्यसको प्रभाव नेपालको अर्थतन्त्रको धुकधुकी बनेको खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्समा समेत पुगेपछि त्यसको असली असर देखा पर्नेछ ।

खाडी मुलुक अब अशान्त बन्ने देखिएपछि त्यहाँको रोजगारीले धानेको नेपाल अरु देशभन्दा चांडै र गहिरोसँग थालिने स्थिती आउँछ । त्यसपछि फैलने युद्दले मलेशिया लगायतका उद्योगमा पनि आफो असर देखाउन थाल्यो भने हाम्रो कुन अवस्था होला त्यो सहज अनुमान लगाउन सकिन्छ । समग्रमा भन्दा त्यो युद्धले नेपालीलाई पनि रुवाउने छ । यहाँ पनि दुखका आँसु झर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस