aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
राष्ट्रियसभा निर्वाचनः

राष्ट्रियसभा निर्वाचनः मनोनयन दर्ता आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
राष्ट्रियसभा निर्वाचनः मनोनयन दर्ता आज

काठमाडौ । राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ। त्यसका लागि सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्छ।

प्रदेश नम्बर १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृत कार्यालयबाट उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारले १० हजार रूपैयाँ धरौटी बुझाउनुपर्नेछ । महिला, दलित र अल्पसंख्यकलाई भने आयोगले ५० प्रतिशत छुट दिने भएको छ । तर आर्थिक रूपमा विपन्न भन्ने प्रमाणित गरेको काजगात चाहिन्छ ।

मनोनयन दर्ताका लागि नागरिकताको फोटोकपी, मतदाता नामावलीको उतार र धरौटी जम्मा गरेको भौचर वा नगदी रसिद पेश गर्नुपर्ने हुन्छ । दलका उम्मेदवारको हकमा दलले दिएको आधिकारिक पत्र पनि समावेश गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेको भए फिर्ता लिएको आयोगबाट प्राप्त पत्र चाहिन्छ भने लाभको पदमा भए राजीनामा दिनुपर्ने हुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाले तालमेल गरेका छन्। यहीँ नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई(दुई सिट बाँड्ने गरी तालमेल गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस