काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही बनाएर रकम भुक्तान गर्ने गुठी संस्थान कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले पाण्डे र राजबाबुसहित गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य, तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, बिचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेलाई १९ लाख ३० हजार रुपैयाँ मोहीहरूलाई मुआब्जा रकम भुक्तान गरेबापत बिचौलियामार्फत घुस लिएको अनुसन्धानबाट खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले निजलाई सोही बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
त्यस्तै, गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले ६ लाख ५० हजार रुपैयाँ मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस लिएको प्रमाण फेला परेका भन्दै सोही बिगो कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस