एजेन्सी । शुक्रबारदेखि विश्व राजनीतिमा इरान र अमेरिका सम्बन्धको चर्चा छ । पहिलादेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका यी दुई मुलुक इरानी कुद्स सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि आमनेसामने भएका छन् ।
सुलेमानीलाई बग्दाद विमानस्थलबाट बाहिरिन लागेका बेला शुक्रबार अमेरिकाले ड्रोन आक्रमण गरेर हत्या गरेको थियो । अचानक आफ्नो देशमा निकै लोकप्रिय र प्रभावशाली सैन्य कमाण्डरलाई मारिदिएपछि इरान अमेरिकासँग क्रुद्ध बनेको छ ।
सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले सुलेमानी हत्याको कडा बदला लिने चेतावनी दिएका छन् । खामेनीको चेतावनीको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को धम्की दिएका छन्। उनले अमेरिकी नागरिक र सम्पत्तिमाथि आक्रमण गरे इरानका साँस्कृतिक महत्वका ५२ ठाउँमा हमला गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले ती ५२ ठाउँले सन् १९८१ मा इरानले बन्धक बनाएका ५२ अमेरिकी नागरिकको प्रतिनिधित्व गर्ने बताए । इरानका साँस्कृतिक महत्वका ठाउँ ध्वस्त बनाइदिने ट्रम्पको ट्वीटले इरानीको रिसको आगोमा घ्यु थपेको छ ।
उक्त ट्वीट रिट्विट गर्दै इरानका सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहम्मद जवाद अजारीले ट्रम्पलाई हिटलरसँग तुलना गरेका छन् र उनी सुट लगाउने आतंकवादी भएको बताएका छन् ।
उनले लेखेका छन्( आइएसआइएस, हिटलर, गेंग्जिस ती सबैले संस्कृतिलाई घृणा गर्थे। ट्रम्प सुट लगाउने आतंककारी हुन् । महान् इरानी राष्ट्र र संस्कृतिलाई कसैले हराउन सकेका छैनन् भन्ने इतिहास उनले छिट्टै थाहा पाउनेछन् ।
ट्रम्पको उक्त भनाइको आलोचनामा इरानमा मात्र होइन अमेरिकामा पनि भइरहेको छ । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीले धेरै अमेरिकीको हत्या योजना बनाएको उल्लेख गर्दै सम्भावित क्षति रोक्न उनलाई मार्नु परेको तर्क गरेको छ । सुलेमानीमाथिको ड्रोन आक्रमण राष्ट्रपति ट्रम्पको निर्देशनमा गरिएको पेन्टागनको भनाइ छ । तर प्रतिपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले सुलेमानीको हत्या अहिले नै किन गरियो भन्ने कुराको ट्रम्पले चित्त बुझ्दो जवाफ नदिएको बताएका छन् ।अमेरिकाजस्तो शक्ति राष्ट्रले कुनै मुलुकको साँस्कृतिक केन्द्रमा हमला गर्छु भन्ने कुरा नसुहाउने भएको उनीहरूको भनाइ छ ।
अमेरिकाको तल्लो सदनले ट्रम्पले इरानमा गर्न सक्ने सैनिक कारबाहीमा लगाम लगाउन यही साता एउटा प्रस्ताव पेस गर्ने भएको छ ।
यसैबीच इरानले सन् २०१५ मा जर्मनी र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूसँग आफूले गरेको आणविक सम्झौता अब नमान्ने घोषणा गरेको छ ।
उक्त सम्झौता राष्ट्रपति ट्रम्पले सन् २०१८ मा एक पक्षीय रूपमा तोडे पनि इरानले उक्त सम्झौता नमान्ने बताएको थिए । उक्त सम्झौताले इरानलाई आणविक परीक्षणमा रोक लगाएको थियो भने बदलामा उसले अन्तर्राष्ट्रिय समूदायको प्रतिबन्धमा केही राहत पाएको थियो ।
उता सुलेमानी हत्या प्रकरणपछि इराकको संसदले आफ्नो देशमा रहा अमेरिकी सेनालाई फिर्ता पठाउने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस