काठमाडौं । विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ ।
कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा नगर्ने विभिन्न ३३२ निर्माण कम्पनी र सप्लायर्सलाई अहिलेसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले ३५ वटा फाइल प्रक्रियामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सार्वजनिक खरिद अनुगमन कार्यालय रहेको छ ।
अनुगमन कार्यालयका निर्देशक राजेश थापाले आर्थिक वर्ष २०६४÷६५ देखि कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा काम नगर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्ने गरिएको बताउँदै सो आर्थिक वर्षदेखि अहिलेसम्म विभिन्न ३३२ निर्माण कम्पनी र सप्लायर्सलाई कालोसूचीमा राखिएको जानकारी दिए ।
सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ कार्यान्वयनमा आएदेखि अनुगमन कार्यालयले निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा सूचीकृत गर्न सुरु गरेको हो । त्यसैगरी गत आर्थिक वर्षमा ५० वटा र चालू आर्थिक वर्षमा अहिलेसम्म २२ वटा निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखिएको जानकारी निर्देशक थापाले दिए ।
गत आर्थिक वर्षमा ४१ वटा निर्माण कम्पनी र नौवटा सप्लायर्सलाई कालोसूचीमा सूचीकृत गरिएको थियो । त्यसैगरी चालू आर्थिक वर्षको अहिलेसम्म कालोसूचीमा सूचीकृत गरिएका कम्पनीहरूमध्ये १६ वटा निर्माण कम्पनी र छवटा सप्लायर्स छन् ।
प्रतिक्रिया दिनुहोस