
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फीरुपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताएकी छिन् ।
मन्त्रालयले हिजो आयोजना गरेको गुठी विधेयकसम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयकविरुद्धको सङ्घर्ष समितिसँग अन्तक्र्रिया कार्यक्रममा उनले गुठीको धर्म, संस्कृति, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताए । मन्त्री अर्यालले गुठीलाई राम्रो बनाउन मन्त्रालयले सरोकारवालाबीचमा छलफल गरेको जानकारी गराएकी थिइन् ।
देशभर विभिन्न प्रकृतिका गुठी रहेकाले तिनका समस्या पनि फरकफरक रहेका उनले बताए । गुठीको मर्म, भावनालाई संरक्षण गर्न मन्त्रालयले अहिले पवित्र भावनाका साथ गुठीसम्बन्धी कानून राम्रो बनाउन लागेको उनको भनाइ छ । धर्म, संस्कृति, प्रथा, परम्परासम्बन्धी गुठी, जग्गासम्बन्धी गुठीको व्यवस्थापन कसरी गर्ने तथा अतिक्रमणमा परेका जग्गाको संरक्षण कसरी गर्ने भन्ने कुरा फरकफरक ढङ्गले हेरिनुपर्ने बताएकी थिइन् ।
मन्त्री अर्यालले उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भएका खबर आएकाले त्यसको छानबिन भइरहेको जानकारी गराए । उपत्यकाका गुठीको संरक्षणसँगै अतिक्रमण भएका जग्गाको संरक्षण कसरी गर्ने भन्नेतर्फ पनि ध्यान दिन उनले आग्रह गरे । देशभर १३९ विघा गुठीको जमिन अतिक्रमण भएको उनको भनाइ छ । उनले भने, “मन्त्रालय त्यसको संरक्षणको अभियानमा लागेको छ ।”
प्रतिक्रिया दिनुहोस