aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मिटर ब्याजीको अर्को धन्दा : दुई सय पीडित परिवारद्वारा गृह मन्त्रालयमा उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
मिटर ब्याजीको अर्को धन्दा : दुई सय पीडित परिवारद्वारा गृह मन्त्रालयमा उजुरी

काठमाडौं ।  झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् । 

सर्लाही मलंगवा–१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन सुरु गरेको हो । उनीहरूले यादव र शाहले विभिन्न बहानामा जालझेल गर्दै करकापमा पारी जग्गासमेत खाइदिएको आरोप लगाएका छन् । तराई क्षेत्रमा पैसावालले चर्को ब्याज (मिटर ब्याज) लगाएर सर्वसाधारण ठग्ने क्रम उच्च छ ।
पीडितहरू गृह मन्त्रालय आउनुअघि नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सँगै लिएर न्याय माग्न सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेका थिए । त्यसपछि पीडितहरू उजुरीका लागि गृह मन्त्रालय गएका हुन् । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले पीडितहरू अन्यायमा परेको र अर्बौं ठगी भएको गुनासोसहित गृह मन्त्रालयमा आएको बताए ।

दुई सय पीडित परिवारद्वारा गृह मन्त्रालयमा उजुरी

‘पीडितहरू हामी अन्यायमा प¥यौं भनेर मन्त्रालयमा आउनुभएको छ । कागजात हेर्दा ५ अर्ब बढी ठगी भएको देखिन्छ । अब गृह मन्त्रालयले सो विषयमा अनुसन्धान गर्छ,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार पथिकले राजधानीसँग भने । ठगीको स्वरूप हेर्दा श्याम परदेशीको ठगी काण्डभन्दा पनि खतरनाक हुन सक्ने उनले बताए । यसअघि सर्लाहीकै श्याम परदेशीले पनि सयौंलाई चर्को ब्याज लगाई ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । परदेशीलाई ठगी मुद्दा चलाइएको छ ।
गृह मन्त्रालयमा गृह तथा प्रहरीका उच्च सुरक्षा अधिकारीको बैठकसमेत बसेको छ । ‘कसरी अघि बढ्ने भन्ने विषयमा सचिवज्यू र प्रहरी महानिरीक्षकज्यूले छलफल गर्नुभएको छ । अन्यायमा परेकाहरूले न्याय पाउने गरी कारबाही अघि बढ्छ,’ पथिकले भने ।

प्रतिक्रिया दिनुहोस