
काठमाडौं । युक्रेनको विमान इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको छ । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १८० जना यात्रु तथा चालकदलका सदस्य लिएर उडेको इरान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बोइङ्ग ७३७–८०० जेट विमान उडान भरेको केही बेरपछि नै तेहरानको दक्षिण पश्चिमी क्षेत्र पारान्डमा दुर्घटनाग्रस्त भएको हो । सो विमान युक्रेनको राजधानी किएभका लागि उडेको थियो ।
इरानका समाचार संस्था आइएसएनएका अनुसार युक्रेनियन एयरलाइन्सको विमान प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको हो ।
विमानमा रहेका अधिकांश व्यक्तिको निधन भएको इरानको आपतकालीन मेडिकल सर्भिसका प्रमुख पिर्होसेइन कोएलिवान्डले बताएका छन् । उद्धारकर्मीको टोली विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा पुगेको छ । तर सो क्षेत्रमा आगो लागेका कारण उद्धारमा कठिनाइ भएको छ ।
दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस