aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

३ दिनसम्म वीरगञ्ज भन्सार नाका बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
३ दिनसम्म वीरगञ्ज भन्सार नाका बन्द हुने

सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिखसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ।

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ । भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

उनका अनुसार विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ ।

‘विगतमा पनि निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरेर सीमा बन्द गर्ने गरिएकै हो, यसपालि पनि त्यस्तै हुँदैछ । वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द गरेर सहयोग गर्न भारतीय पक्षले पत्राचार गरेको छ, उनीहरुले अत्यावश्यक पेट्रोलियम पदार्थ नरोक्ने भनेका छन्’ उनले भने ।

पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ । त्यसैगरी सीमावर्ती शहरमा प्रशारणमा रहेका मिडियालाई मौन अवधिमा प्रचार प्रसार नगरिदिन पनि भारतीय पक्षले पत्र मार्फत आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

भारतीय लोकसभा निर्वाचनलाई लिएर पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको थियो ।

बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । भारतीय राजनीतिमा बिहारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किनकी लोक सभाको ५ सय ४३ सदस्यमध्ये ४० जना यहीबाट चुनिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस