
काठमाडौं । मेडिकल कलेज अनुमतिको पर्खाईमा रहेको झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २० करोड रुपैयाँ घुस मागेको खुलासा भएको छ ।
प्रसाइँलाई द्वारिका होटलमा बोलाएर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाइँले आर्थिकन्युजसँगको कुराकानीमा स्वीकारेका छन् ।
प्रसाईंले बुधबार बानेश्वरमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई घुस मागेको जनकारी गराएका हुन् ।
प्रसाईंले आफूले सो रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको बताए । गिरीले घुसको प्रस्ताव गरी सो पूरा नभएपछि बिएण्डसीको सम्बन्धनको निवेदन नै रोकेको दाबी गरे ।
पत्रकार सम्मेलनमा उनले थप जानकारी दिँदै गिरीले राखेका मागहरू थप्दै भने ‘ममाथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो’ उनले भने, ‘मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन। १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’
त्यसपछि गिरीले ‘मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनुस्’ भनेको प्रसाईंले सुनाए । घुस मागेको प्रमाण छ ? भन्ने प्रश्नमा उनले भने, ‘मैले रेकर्ड गरिनँ । तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ ?’
यता, उपाध्यक्ष गिरीले भने आफूले घुस नमागेको दावी गरेका छन् । उनले प्रसाईं सम्बन्धनका लागि ठाडो निवेदन लिएर आयोगमा आएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस