aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

यातायात व्यवसायीको प्रतिबद्धता: गाडीमा कोचाकोच यात्रु हाल्दैनौ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
यातायात व्यवसायीको प्रतिबद्धता: गाडीमा कोचाकोच यात्रु हाल्दैनौ

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नचढाउने सहमति यातायात व्यवसायीले गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालय र यातायात व्यावसायीले सहमति गरेका हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बोलाएको भेलामा व्यवसायीहरूले यातायात व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। महाशाखा प्रमुख भीम ढकाल आफैं सार्वजनिक यातायात चढेर अनुगमन गरेपछि यातायात व्यवसायीसँग छलफल गर्न भेला बोलाएका थिए। महाशाखाले उपत्यकाको यातायातलाई व्यवस्थित गराउन १९ बुँदे प्रतिबद्धता गर्न लगाएको छ । 

उपत्यकामा यातायात सेवा दिने ३२ वटा कम्पनी, मजदुर र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वसाधारणलाई सास्तीबिना सेवा दिने प्रतिबद्धता जनाएका हुन् । सिटभन्दा तेब्बर यात्रु कोच्दा सर्वसाधारण सकसपूर्ण यात्रा गर्न बाध्य छन् । व्यवसायीले गरेको प्रतिबद्धता कार्यान्वयन गरे(नगरेको अनुगमन गर्न व्यवसायीसहितको समिति गठन गरिएको ढकालले बताए। 

प्रहरी उपरीक्षक राजकुमार बैदवारको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी प्रालिका प्रतिनिधि गरी आठ सदस्यीय अनुगमन समिति गठन गरिएको छ। यातायात व्यवसायीको प्रतिबद्धता तोकिएको भाडादर मात्र लिने ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने, सिट दुरुस्त राख्ने, गाडीको रंङरोगन गर्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने, चालक(सहचालकले राम्रो व्यवहार गर्ने, सवारी तीव्र गति तथा लापरबाहीका साथ नचलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, चालकले मोबाइल फोन प्रयोग नगर्ने, सवारीसाधनको नियमित सरसफाइ गर्ने, अरूलाई बाधा पुग्ने गरी ठूलो आवाजमा म्युजिक नबजाउने सवारीसाधनमा स्टिकर तथा झल्लर नलगाउने सवारीसाधनको अवस्था ठीक राखी चलाउने, चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने, तोकिएको स्थानमा मात्र यात्रु ओराल्ने तथा चढाउने प्रयोजन विपरीत सवारी प्रयोग नगर्ने यातायात व्यवसायीले प्रतिबद्धता गरेका छन् । 

प्रतिक्रिया दिनुहोस