aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विकासको गति बढाउन वैशाखबाट आर्थिक वर्ष शुरु र सार्वजनिक खरिद ऐन संशोधन गर्न सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
विकासको गति बढाउन वैशाखबाट आर्थिक वर्ष शुरु र सार्वजनिक खरिद ऐन संशोधन गर्न सुझाव

 काठमाडौं, वैशाख २६ । आर्थिक वर्षको शुरुवात वैशाखबाटै शुरु गरे विकास निर्माणका कामले गति लिने सांसद्हरू बताएका छन् । बिहीबार संघीय संसदको अर्थ समितिले आयोजना गरेको कार्यक्रममा सांसद शेरबहादुर तामाङलगायतका सांसदले आव अघि सार्ने सल्लाह दिएका हुन् ।

‘वैशाखबाट आव शुरु भए ४० प्रतिशत क्षमता अभिवृद्धि हुन्छ,’ कानुन समितिका सदस्य समेत रहेका तामाङले भने–‘ पुरानै ढर्रामा काम गरे समृद्ध नेपाल र सुखी नेपाली हुन सक्दैन ।’  अहिलेको सार्वजनिक खरिद ऐन र नयाँ आर्थिक वर्ष शुरु हुने अवधिको परिमार्जन वा संशोधन नभएसम्म आयोजना तथा परियोजनामा यस्तै समस्या आइरहने उनको दाबी छ । 

अर्थ समितिले गरेको अध्ययनमा पनि बहुसंख्यक उच्च पदस्थ व्यक्ति तथा नागरिकले बजेट कार्यान्वयनका लागि आर्थिक वर्ष परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । अर्थ समितिले आगामी आवको लागि बजेटमा सुझाव दिन आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा १० जिल्लाका चार सय ८६ जनामाथि गरेको अध्ययनमा बहुसंख्यक नागरिकको सुझाव आर्थिक वर्ष परिवर्तन गर्नुपर्नेमा रहेको छ । समितिले गरेको अध्ययनमा दुई सय ९५ जनाले आर्थिक वर्ष वैशाख १ बाट शुरु गर्नुपर्ने बताएका छन् ।


त्यस्तै सरकारी खर्च गर्नका लागि एक पैसा पनि कानुनको बाटोबाट गरिनु पर्छ, तर यहाँ कानुन मिचेर खर्च गर्ने परिपाटी छ । यस्ता खर्चलचाई रोक्ने कानुन ल्याउनुपर्नेमा तामाङको जोड छ । देशलाई यदी दु्रततर रुपमा विकास गर्ने हो भने समृद्धि चाहने हो भने हिमालीमार्ग निर्माण गर्ने कार्यक्रम बजेटमा समावेश हुुनुपर्ने उनको भनाइ छ । दार्चुलादेखि ताप्लेजुङसम्म हिमाली सडक निर्माण गर्नुपर्ने तामाङले बताए । 

‘हिमालीमार्गबाट वार्षिक दुई खर्ब पुँजी निर्माण हुनेछ,’ उनले भने–‘ र यो मार्गलाई राष्ट्रिय गौरवका रुपमा विकास गर्न सक्नुपर्छ ।’ भोलि सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता ल्याउँदै छ । यसमै यो कुरा समावेश हुनुपर्ने उनीहरूले सुझाएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस