aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नाट्टा नेतृत्वमा पुग्न दौडधुप शुरु, अलग-अलग तीन समूहले गराए मनोनयन दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ पुस २०७६
नाट्टा नेतृत्वमा पुग्न दौडधुप शुरु, अलग-अलग तीन समूहले गराए मनोनयन दर्ता

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को आसन्न निर्वाचनको दौडधुप शुरु भएको छ । आगामी माघ ३ गते हुने निर्वाचनको लागि तीन अलग अलग समूहले मनोनयन दर्ता गरेका छन् । 

निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन् । 

त्यस्तै कार्यसमिति सदस्य सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले मनोनयन दर्ता गराएका हुन् । पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सहकोषाध्यक्षमा युविका भण्डारीको उम्मेदवारी दिएका छन् भने कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी डेण्डी शेर्पा राम सोभित नायकले उम्मेदवारी दर्ता गराएको नाट्टा सचिवालयले जनाएको छ । 

अध्यक्षको प्रत्यासीका रुपमा नाट्टाका पूर्वमहासचिव शाहधाख्वा समूहले पनि मनोनयन दर्ता गराएका छन् । नाट्टा सचिवालयका अनुसार धाख्वाको १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन् । कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता भएको छ ।

तीनवटै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनित गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा शाखा कार्यालय रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस