aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

उखु किसानको आंशिक भुक्तानी, जान थाल्याे खातामा रकम

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २५ पुस २०७६
उखु किसानको आंशिक भुक्तानी, जान थाल्याे खातामा रकम

काठमाडौं । सरकार र उखु किसानबीच भएको पाँचबुँदे सम्झौता अनुसार चिनी मिल सञ्चालकहरूले किसानको बक्यौता रकम दिएको नदिएको अनुगमनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाएको छ ।

मन्त्रालयले बिहीबार पत्र पठाएपछि विभागले शुक्रबारदेखि अनुगमन थाल्ने बताइएको छ । विभागका महानिर्देशक जीवन सिटौलाले पत्र प्राप्त भएको छ, शुक्रबारदेखि त्यसको अनुगमन गर्ने बताए । सरकार र उखु किसानबीच भएको सम्झौता अनुसार माघ ७ गतेभित्र सबै बक्यौता रकम भुक्तानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सो अनुसार हालसम्म कति रकम भुक्तानी गरे थाहा पाउन अनुगमन गर्ने उनले बताए।

उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले यसपटक उद्योग मन्त्रालय उखु किसानको भुक्तानीका लागि निकै गम्भीर भएर लागेको बताए । उखु किसानले मिल सञ्चालकबाट पाउनुपर्ने बक्यौता रकम र सरकारबाट दिइने अनुदान रकम के कति प्राप्त ग¥यो त्यसको अनुगमन गर्न लागेको उनले जानकारी दिए ।

पुस १८ गते शुक्रबार सम्झौता भएपछि चिनी मिल सञ्चालकहरूले आइतबारदेखि उखु किसानको खातामा बक्यौता रकम हाल्न सुरु गरेका छन् । यता सरकारले दिने अनुदान रकम पनि वितरण सुरु भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले किसानले पाउनुपर्ने सरकारी अनुदान रकममध्ये २३ करोड रुपियाँ वितरण गरिएको बताए । सरकारले ९० करोड अनुदान रकम जिल्ला जिल्लामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस