काठमाडौं । निर्माण सुरु भइसकेको जलाशययुक्त तनहुँ हाइड्रो (१४० मेगावाट) को पुनः ठेक्का प्रक्रियामा एसियाली विकास बैंक (एडीबी) ले हस्तक्षेप गरी रद्द गरेको छ। अघिल्लो वर्षदेखि निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेज (आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ र अस्थायी बाँधलगायतका संरचना) को ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको छ।
आयोजनामा १५ करोड अमेरिकी डलर ऋण दिएको एडीबीको हस्तक्षेपका कारण निर्माण सम्पन्न हुन कम्तीमा पनि आठ महिना पर धकेलिएको छ भने लागत पनि बढ्ने भएको छ। ‘एडीबीको अस्वीकृतिसँगै यसले आयोजनामा पार्ने असरबारे हामी अध्ययन गरिरहेका छौं,’ तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले भने।
उनका अनुसार एडीबीले डिसेम्बर अन्तिम साता आयोजनाले पठाएको चारवटै प्रस्तावक ठेकेदार कम्पनी अस्वीकृत भएको उल्लेख गर्दै पुनः ठेक्का गर्न पत्राचार गरेको हो। एडीबीले उसले राखेका सर्त पूरा नभएको जनाएको छ।
पहिलो प्याकेजको ठेक्काका लागि तनहुँ हाइड्रोपावर लिमिटेडले गत वैशाख १२ गते पुनः टेन्डर गरेको थियो। टेन्डर गरेको नौ महिनापछि सबै प्रक्रिया रद्द भएको हो। आयोजनाको अनुमानित लागत भ्याट र भइपरिआउने खर्चसमेत गरी २० अर्ब ६४ करोड रुपैयाँ छ।
पहिलो प्याकेजका लागि चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्स्ट्रक्सन (संयुक्त उपक्रम) ले बोलपत्र पेस गरेका थिए।
प्रतिक्रिया दिनुहोस