काठमाडाैं । उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने योजना बुनेका चन्द्रशेखर भट्ट बिहीबार बिहान ५ बजे कठ्याङ्ग्रिँदै डेराबाट केशरमहलका लागि प्रस्थान गरे । ‘नो अब्जेक्सन लेटर’ लिन भक्तपुरको झौखेलबाट केशरमहलतर्फको यात्रा थालेका उनी बिहान ६ बजे गन्तव्यमा पुगेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा पुगेका उनको पालो पालो २७औं नम्बरमा प¥यो । बिहान साढे ११ बज्दासम्म पनि उनको हातमा नो अब्जेक्सन लेटर परिसकेको थिएन ।
‘चिसोमा त्यति बिहान आउँदा मभन्दा अगाडि अरू पनि आइसकेका थिए’, सूचना प्रविधि विषयमा स्नातक तह अध्ययन गर्न नो अब्जेक्सन लेटर प्राप्तिका लागि आवेदन बझाएका दार्चुला मार्मा गाउँपालिकाको लटिनाथका बासिन्दा भट्टले भने, ‘विश्व डिजिटल युगमा प्रवेश गरिसक्यो । घरमै बसेर विश्वविद्यालयको परीक्षा दिने कुरा अब नयाँ भएन तर यहाँ नो अब्जेक्सन लेटर लिन पनि परम्परागत व्यवस्था कायम छ । हामी सूचना प्रविधिमा धेरै पछाडि रहेको यसैबाट प्रस्ट हुन्छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा र अध्ययनका लागि विदेशी विनिमय पठाउन बैंकमा बुझाउन नो अब्जेक्सन लेटर लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । केशरमहलमा रहेको सो शाखाबाट दैनिक सरदर दुई सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छन् । कुनै कुनै दिनमा सात सयसम्म विद्यार्थी पुग्ने गरेका छन् ।
सुरुमा कर्मचारीले आवेदनपत्रमा नेपाल सरकारको छाप लगाई पालो नम्बर उल्लेख गरिदिन्छन् । आवश्यक कागजात र प्रमाणपत्रसहितको आवेदनपत्रलाई झ्याल नम्बर ३ मा बुझाउनुपर्ने हुन्छ । त्यसपछि झ्याल नम्बर २ मा राजस्व बुझाउनुपर्ने नियम छ । झ्याल नम्बर ४ मा ‘कम्प्युटर इन्ट्री’का लागि कागजात बुझाउनुपर्ने हुन्छ । अन्तिममा झ्याल नम्बर ६ बाट नो अब्जेक्सन लेटर वितरण गरिन्छ । हरेक झ्यालमा सेवाग्राही लाममा बस्नुपर्ने हुन्छ । पानी परेमा जोगिने अवस्था छैन ।
दशकयता वैदेशिक शिक्षातर्फको आकर्षण नेपाली विद्यार्थीमा निकै बढ्दै गएको छ । सो शाखाका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा ६३ हजार २५९ जनाले नो अब्जेक्सन लेटर लिएका थिए । त्यसभन्दा अघिल्लो वर्ष २०७४÷७५ मा ५८ हजार ७५८ जनाले त्यस्तो पत्र लिएका थिए । आव २०७२÷७३ मा ३२ हजार ४८९ ले नो अब्जेक्सन लेटर लिएका थिए । चार वर्षमा दोब्बरले त्यस्तो पत्र बुझेको देखिन्छ ।
हुन त नो अब्जेक्सन लिएकाहरू सबै नै वैदेशिक शिक्षाका लागि विदेशिने गरेका छैनन् । नो अब्जेक्सन लेटर लिएकामध्ये ७० प्रतिशत विदेशिने गरेको अनुमान शैक्षिक परामर्शदाताहरूले गर्ने गरेका छन् ।
विद्यार्थीले अनलाइनबाट आवेदन फाराम भरेपछि तुरुन्तै नो अब्जेक्सन लेटरको नम्बर उपलब्ध गराइन्छ र सोही नम्बरका आधारमा बैंक र अध्यागमनमा देखाई सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिँदै छ । नेपाल विश्वविद्यालय र परीक्षा बोर्डसँग पनि नेटवर्क जोडिने छ । त्यसबाट विद्यार्थीले बुझाएको प्रमाणपत्रको सत्यापन प्रमाणीकरण गर्न सहज हुने छ ।
सो शाखाका अनुसार गत २०७५ साल साउन १ देखि यही पुस २४ सम्ममा अस्ट्रेलियाका लागि ४३ हजार ४९४ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जापानमा अध्ययनका लागि १२ हजार ३७८ र अमेरिकाका लागि दुई हजार १५८ जनाले त्यस्तो पत्र लिएका छन् ।
प्रतिक्रिया दिनुहोस