aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सवारी दुर्घटनामा एकैदिन ८ जनाले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
सवारी दुर्घटनामा एकैदिन ८ जनाले ज्यान गुमाए

काठमाडौं । सवारी दुर्घटनामा एकैदिन ८ जनाले ज्यान गुमाएका छन् । चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ८ जनाले ज्यान गुमाएका हुन् ।  

चितवनको राप्ती नगरपालिका ६ हर्दीस्थित सडकमा ना.७ ख ४६६० नम्बरको ट्याङकरले प्रदेश नम्बर ३-०२-००५ प ४३४७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । सोहि दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका ४ बस्ने ३५ वर्षीय ईन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २४ वर्षीय सुगम तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, रामेछापको दोरम्बा गाउँपालिका(३ टोकरपुरस्थित सडकमा बिहीबार दिउँसो बा.२ क ९००९ नम्बरको गाडीको ठक्करबाट सोही स्थान बस्ने अशोक कडेलकी ६ वर्षीया छोरी प्रतिमा कडेलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

त्यस्तै, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ थापागाँउस्थित सडकमा मे.१ च ६६०६ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार सोही स्थान बस्ने ३५ वर्षीय पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरस्थित औरही खोलाको बगरमा ना.७ ख ६४१३ नम्बरको टिपरले बिहीबार दिउँसो सोही ठाउँ बस्ने २४ वर्षीय दिलिप कुमार महतो भन्ने ओमप्रकाश महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । टिपर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका ९ अगोरस्थित हेटौंडा भैसे पालुङ सडकखण्डमा बा.१ य १२८३ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शुक्रवार बिहान दुर्घटना हुँदा कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जना भारतीय नागरिकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, रौतहटको कटहरिया नगरपालिका ९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना.१ त ४१४० नम्बरको ट्याक्टरले किचेर हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रौतहटकै माधवनारायण नगरपालिका ३ स्थित सडकमा ना.५ त ९२६७ नम्बरको ट्याक्टरले ना.४८ प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका ६ माधोपुरब बस्ने ४० वर्षीय राम अधार ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तराई हस्पिटल बीरगंजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २२ वर्षीय सुसिल ठाकुरको तराई हस्पिटल सुकदेवचोकमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सवारी दुर्घटनाका कारण भेटिन्छ तर समाधान खोजिन्न  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना हुनुको कारण के हो भन्नेसमेत विश्लेषण गरेको छ  । महाशाखाले सवारी दुर्घटना हुनुमा चालकको लापरबाहीलाई पहिलो कारण देखाइएको छ  । उपत्यकामा मात्रै आठ वर्षमा भएका ४६ हजार दुर्घटनामध्ये ४० हजार ४०८ दुर्घटना चालकको लापरबाहीले भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनाको दोस्रो कारणमा तीव्र गति, तेस्रोमा मादक पदार्थ सेवन, चौथोमा सवारी साधनको यान्त्रिक गडबडी, पाँचौंमा ओभरटेक, छैटौंमा पैदल यात्रुको लापरबाही छ । सातौंमा तोडफोड, आठौंमा सडकको अवस्था र नवौं कारणमा मौसम एवं चौपाया हुने गरेको पाइएको छ ।

दुर्घटनाको कारणसहित समाधानका लागि प्रहरीले नीति निर्माण तहमा पठाउँछ तर सुधारको नीतिगत व्यवस्था भएको भने अझैसम्म हुन सकेको छैन । दुर्घटनाको कारण पत्ता लागे पनि सुधारको बाटो नअपनाइँदा सडकमा यात्रुलाई प्राथमिकतामा नराखिएको प्रस्ट देखिन्छ । सडकमा खटिएका प्रहरीले लेखेर पठाएका आधारमा दुर्घटना के कारणले भयो भन्ने थाहा हुने गरेको छ । सम्बन्धित यातायात कार्यालयमा रहेका इन्जिनियरमार्फत अध्ययन गराउन त सकिन्थ्यो तर हरेक दुर्घटनामा चालकको लापरबाही भन्ने गरिन्छ । कतिपय सवारी ठीक अवस्थामा नभएर हुन्छ भने केहीमा सडकका कारण । सवारी तथा यातायात व्यवस्था ऐनमा भएको व्यवस्था कार्यान्वयन नहुँदा दुर्घटना बढिरहेको छ । यातायात व्यवस्था विभागले आफू पनि गर्दैन, ट्राफिक प्रहरीलाई पनि अधिकार दिदैन । यसले पनि यातायात व्यवस्थापनमा समस्या देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस