aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेकपा प्रदेश ३ को निर्णय:  प्रदेशको नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै कायम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
नेकपा प्रदेश ३ को निर्णय:  प्रदेशको नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै कायम

काठमाडौं । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिए । 

उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताउनुभयो । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनले बताए।
 
मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘‘दलको बैठकमा प्रदेशसभा सदस्यको  धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’’, मुख्यमन्त्री पौडेलले भने ।

राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उहाँले बताउनुभयो । यही पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ । 

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए । हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उनको भनाइ थियो । 

“नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ”, उनले भने । ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि रु भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताए । प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपाका एक र नयाँ शक्तिका एक सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस