aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

माघ १ गते माघी पर्वमा सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
माघ १ गते माघी पर्वमा सार्वजनिक बिदा

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । 

गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए । गएको वर्षमा पनि प्रदेश सरकारले माघी पर्वको दिन सार्वजनिक बिदा दिएको थियो ।

माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ । यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

माघी पर्वको सुरुवात र अन्त्य
माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि सुरु भएको मानिन्छ अर्थात् ‘जिता मर्ना दिन’ देखि माघी सुरु हुन्छ । यस दिन छरछिमेकमा गई ‘माघक टिप्पा’ चाख्ने निहुँमा अनदीको जाँड र सुँगुरको मासु खाने गरिन्छ ।

१ गतेको दिन जब बिहान भालेको पहिलो प्रहर सुरु हुन्छ तब साना ठूला सबै पुरुष दुई नदीको संगम दोभानमा र सुर्खेत जिल्लामा पातलगंगा कुवामा नहुउन जाने गरिन्छ ।

महिलाहरू कामकाजमा व्यस्त रहने भएकाले नजिकको खोला, कुवा, घाटमा गइ नुहाउछन् । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मेपछि मरीहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने गर्दछन् ।

नुहाउने क्रममा सिक्का पैसा पहिलो पटक डुबुल्की मार्दा साथमा लिइ पानी भित्र छोडी दिनुपर्दछ । नुहाइ सकेपछि लोहोटामा पानी केही पैसा, फूल, अक्षता ढुंगाको देवतामा एकाग्र मनचित गराइ अर्पण गर्नुपर्दछ ।

आफ्नो टोलीको सबै जनाले जलअर्पण गरिसकेपछि चामलको अक्षताको टिका लगाउने गरिन्छ । नुहाइ घरमा फर्केपछि सबैजना पुरुषले सर्वप्रथम ‘निश्राउ कहार्ने’ गर्दछन् ।

घरको एउटा कोठामा एउटा एउटा ढकियामा चामल, नुन, उरुद (मास) राखिएको हुन्छ यिनै चामल, नुन, उर्दलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई ‘निश्राउ कहर्ना’ भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थपेर माघी देवानीको दिनमा दिदीबहिनीलाई दिन जाने गरिन्छ ।

निश्राउ कहर्ना सकेपछि घरको जेठो पाको व्यक्तिबाट सुरु गरी आफूभन्दा पाका सबैसँग ‘स्यापा’ (ढोग भेट) लाग्ने र आशिश लिन गरिन्छ । आ–आफ्नो घरमा स्थावा ढोग लगेर खानपिन गरिसकेपछि छरछिमेक तथा गाउँघरमा आफ्ना मान्यजनहरूसँग ढोग स्यावा लागेर आर्शीवाद लिने र सानालाई आर्शीवाद दिनुका साथै माघी पर्वका मिठामिठा परिकारहरू खाने गरिन्छ । यसदिन सम्बन्ध बिग्रेका र बोलचाल बन्द भएकाहरू कहाँ गएर पनि स्थावा ढोग लाग्ने गरिन्छ ।

यसले खेतीपाती गर्दा वा अन्य बेला हुन गएका मनमुटाव तथा रिसिबीहरू बिर्सी सहिष्णुता सद्भाव, माया ममता पुनस्थापना गर्न, गराउन मद्दत गर्ने गर्दछ ।

माघिको भोलिपल्ट ‘माघी देवानी’ का दिन दाजुभाइहरूले आफ्नो दिदीबहिनीहरूलाई ‘निश्राउ’ कोशेली अनिवार्य रूपमा दिन जाने गर्दछन् । दाजुभाइले आफ्नो दिदीबहिनीहरूलाई सद्भावका साथ वर्षेनी दिने ‘निश्राउ’को ठूलो महत्व रहेको छ ।

माघ २ गतेका दिन दिदीबहिनीहरूले निश्राउ दिन आउने दाजुभाइको प्रतिक्षा गरेर बसिरहेका हुन्छन् । चेलिबेटीले आफ्नो दाजुभाइको स्वागत गर्दै मिठामिठा परिकार खान दिने गर्दछन् । यसले दाजुभाई र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ र जीवन्त बनाउन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस