aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आफन्तबाटै बेचिन्छन् छोरीचेली

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, २६ पुस २०७६
आफन्तबाटै बेचिन्छन् छोरीचेली

काठमाडौं ।अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु। नुवाकोटकी २१ वर्षीय रानू मगर (नाम परिवर्तन) लाई पीडा पोख्न गाह्रो भइरहेको थियो। भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन्। मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन्। अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस्।’

आफ्नै काका–काकीले उनलाई भारतको कोठीमा पुर्‍याएका थिए। त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन्। उमेर सानो भएकाले हर्मोन परिवर्तन गर्ने इन्जिेक्सन लगाएर वयस्क बनाइयो। काठमाडौंमा हुँदा उनी होटलमा भाँडा माझ्ने काम गर्थिन्। चप्पल कारखानामा काम लगाइदिने भन्दै उनलाई भारत पुर्‍याइएको थियो। रानूले भारतका भिन्दाभिन्दै कोठीमा शोषण सहेर बस्नु पर्‍यो। बेचिएपछि रानूले धेरैपटक भाग्ने प्रयास गरिन्। ‘हरेक दिनको कुटाइ र पीडा सहन गाह्रो हुथ्यो’, उनले भनिन्।

उद्धारका लागि आएका दाजुभाइ, बेचिएका अन्य महिलाले पनि धेरैपटक भाग्न सुझाए। तर भागेर कहाँ जाने ? कसलाई गुहार माग्ने ? रानुलाई केही थाहा थिएन। भाग्न खोज्दा कोठीकै मान्छेले कुट्थे। रानू एक साथीलाई थला पर्ने गरी कुटेको सम्झन्छिन्। निरन्तरको कुटाइले किशोरीहरू मानसिक पीडामा हुन्थे। डर र त्रासमा बाँच्थे। सधैं असह्य पीडा दिन थालेपछि रानूले भाग्ने विचार नै त्यागिन् र कोठीको अँध्यारो कोठालाई नै संसार मान्न थालिन्।

केही महिनाअघि माइती नेपालले रानूलाई उद्धार गरी नेपाल फर्काएको छ। कोठीबाट फिर्ता भए पनि उनलाई समाजको सामना गर्न सजिलो छैन।

प्रतिक्रिया दिनुहोस