गुल्मी । पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको मन भावविहाल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए ।
गोठमा गोरु फुकेको र गोरु बान्ने ठाउँपछाडी उनी लडेकोले केहिले गोरुले हानेर लडेको अक्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर ग¥र्यो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुन तम्घास ल्याए । अन्तत भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो । ‘चिच्याएको सुनेपछि म आए, रक्ताम्य अवस्थामा लड्नुभएको थियो ।’ मसुराले भनिन्, ‘गोरुले हानेको भनेपनि अवस्था त्यस्तो थिएन ।’
यसरी भयो हत्या
सोहि दिन दिउसोँ तत्कालिन घाइते र हाल मृतक भनिएकी कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको हत्या गर्ने र गहना लुट्ने योजना बनाउछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाईन् र चिर्पट दाउरो लिएर लुकेर बसिन् । देवीले गोरु फुकेको जानकारी सासुलाई गराउछिन् ।
फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट दाउराले हानेर भुँइमा लगाउछिन् । देवीले चाँहि कोहि मानिस आउलाकी भनेर बाटोतिर हेर्छिन । कोहि नआएपछि उनीहरुलाई पनि गहना लुट्ने समय मिल्यो । अनि बुलाकी, मडाउरी लगायतका गहना दुवै मिलेर लुट्छन् । कौशिलाको ज्यान गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन् । अन्तत देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासु लडेको देखेको नाटक गरेको प्रहरीको बयानमा बताएकी छिन् ।
गहना लुट्दा सासूको ज्यान गयो
कौशिलाले गहनाको रुपमा नाकमा बुलाकी र दुईवटा कानमा दुई माडवारी लगाएकी थिइन् । आफ्नै बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेलामा झगडा परिरहन्थ्यो । गत ७ बर्ष पहिले पनि देवीले सासु–ससुराको खानामा विष राखेर पकाएकी थिइन् । संयोगले बिरामी परेपनि त्यत्तिबेला उनीहरु बाचेँ । त्यो बेलादेखि नै देवी सासु–ससुरासँग एउटै घरमा छुट्टिएर बसेकी थिइन् । केहि महिना पहिले पनि देवीले सासुलाई हानेर लडाएको छिमेकी बताउछन् । त्यत्तिमात्र होइन्, सासु–बुहारीको झगडा, सामान्य आगलागि जस्ता विषय कौशिला र देवीको घरमा सामान्य जस्तै भएको स्थानीय बताउछन् ।
मुख्य कारण मदिरा
इस्मा गाउँपालिका जिल्लाकै अत्याधिक घरेलु मदिरा उत्पादन र बिक्री हुने क्षेत्रका रुपमा चिनिन्छ । स्थानीय तह गठनपश्चात केहि कमि भएपनि समाजमा मदिरा उपभोग गर्ने भने घटेका छैनन् । महिला, पुरुष वा बृद्ध । अधिकाशं कुमाल र दलित तथा अन्य जातिले पनि मदिरा सेवन गर्ने गरेको पाइएको छ ।
मृतकी कौशिलाकी जेठाजुकी बुहारी लक्ष्मी पनि मदिराबाट अछुतो छैनिन् । उनको ससुराको पेन्सन छ । जसबाट उनीसहित उनका ससुरा र लक्ष्मीका श्रीमान अजयले पनि मदिरा सेवन गर्छन । श्रीमान अजय टिभि रोगी हुन् । लक्ष्मीले पनि मदिरा सेवन गरेको बेला उघ्र स्वभावको व्यवहार गर्ने छिमेकी बताउछन् । घटना घट्ने दिन पनि लक्ष्मीले मदिरा सेवन गरेकी हुन्छिन् । जसले गर्दा सासुको हत्या गरी गहना लुट्ने योजना निर्माणमा मदिराले साथ दिएको वडाध्यक्ष तोयनाथ सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस