aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सरकारी सम्पत्तिमा आफूखुसी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २६ पुस २०७६
सरकारी सम्पत्तिमा आफूखुसी

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगामा रहेको १० करोड मूल्य बराबरको सरकारी सामान दुरुपयोग भएको पाइएको छ। समन्वय समितिमा रहेका तारजाली, जाली बुन्ने रोल–तार, खानेपानी पाइप, चार–पांग्रे तथा दुई–पांग्रे सवारीसाधन, फर्निचर, ल्यापटप, डेक्सटप कम्युटरलगायत विद्युतीय तथा निर्माण–सामग्री समितिले आफूखुसी व्यक्ति तथा संस्थालाई वितरण गरेको पाइएको हो।

समितिका पदाधिकारीले ४६ हजार एक सय १० किलो जाली बुन्ने रोल–तार, १४ हजार सात सय ३१ थान तयारी जाली समितिले सीधै व्यक्ति तथा संस्थालाई अनियमित ढंगले वितरण गरेका हुन्। बजार भाउअनुसार रोल–तारको करिब ६४ लाख ५५ हजार र तयारी तार–जालीको मूल्य आठ करोड ३९ लाख ६६ हजार रुपैयाँ पर्छ।

त्यसैगरी, समितिले १२ लाख रुपैयाँभन्दा बढी मूल्यको खानेपानीको पाइपसमेत समितिले विभिन्न व्यक्तिलाई वितरण गरेको छ। १६ देखी दुई सय एमएमसम्मको पाइप सीधै व्यक्तिलाई दिएको पाइएको छ। १६ एमएमको चार हजार पाँच सय, २० एमएमको पाँच हजार पाँच सय, २५ एमएमको तीन हजार नौ सय, ३२ एमएमको आठ सय, ४० एमएमको तीन हजार ६ सय, ५० एमएमको दुई सय, ६३ मिटरको तीन सय र दुई सय एमएमको ३४ मिटर पाइप तत्कालीन जिल्ला समन्वय अधिकारी नारायणप्रसाद मैनालीले सीधै वितरण गरेका हुन्।

स्थानीय एक हार्डवेयर व्यवसायीका अनुसार उक्त परिमाणको खानेपानी पाइपको मूल्य १२ लाख ३१ हजार रुपैयाँभन्दा बढी पर्छ। त्यसैगरी मैनालीले चार सय ३० वटा गल, तीन सय २४ वटा गैंती, तीन सय ६३ वटा बेल्चा, एक सय ७७ वटा फोरुवा, ४५ वटा हतौडी, दुई सय २९ वटा घन, दुई सय ४१ वटा कोदालो, एक सय ६१ वटा टकटके, १२ वटा बन्चरो, ४५ वटा सिलवरको गाग्री, दुई सय ६ वटा छिनो र ७७ वटा ह्वील–ब्यारोसमेत बाँडेका छन्।

जिसस स्रोतका अनुसार तार–जाली र जालीबुन्ने रोल–तार प्रायः जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले वितरण गरेका हुन्। समन्वय समितिमा रहेको सामग्री लैजाने सबैभन्दा बढी समितिकै सदस्य, उनीहरूका आफन्त र कर्मचारी छन्। समितिका सदस्यहरू सीता सार्की, विजय लामा, सुन्तला परियार, रामचन्द्र बोगटी, निरबहादुर थापा र होमबहादु विक आफैंले पनि समितिको सरकारी सवारीसाधन र तारजाली, पाइप, निर्माण–सामग्रीलगायत सामग्रीहरू लगेका हुन्। यसका साथै केही वडा कार्यालय, विद्यालय, सञ्चारमाध्यम र कृषि समूहको ठाडो मागको आधारमा पनि कतिपय ल्पापटप, कम्प्युटर, स्टल तथा काठको दराज, फर्निचर दिएका छन्।

प्रतिक्रिया दिनुहोस