काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाँचौ बैठक सम्पन्न भएको छ । बैठकले पुनर्निर्माणका कार्य सन्तोषजनक रूपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्नेगरी काम गर्न सुझाव दिएको छ ।
प्रधानमन्त्री एवं परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्य प्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरूलाई समाधान गर्दै बाँकी काम सकेसम्म छिटो गर्न प्राधिकरणलाई सुझाव दिए । बैठकले भूकम्पपछिको राहत, उद्धार र पुनर्निर्माण बारेका सिकाइ र अनुभव अहिलेका पुस्तामा सचेतना जगाउन र भावी पुस्तालाई जानकारी दिनका लागि संरक्षित र सुरक्षित गर्न पनि सुझाव दिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माणका सिकाइ र अनुभव बाँढ्नका लागि आगामी वर्ष नेपालमा अन्तर्र्रािष्ट्रय सम्मेलन गर्ने तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय बनेको जानकारी दिए । उनले समस्या र जटिलताहरूलाई समाधान गर्दै पुनर्निर्माण अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रूपमा अघि बढाउन नीतिगत र व्यावहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठित संस्थाहरूलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरूलाई अझ सक्रिय पार्न सुझाव दिए ।
सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको भन्दै पुनर्निर्माणका धेरै क्षेत्रमा काम भएको बताए । उनले स्थानीय तहसँग समन्वय गरी गुनासाको सम्बोधन गर्न, सम्पदा पुनर्निर्माण, पुस्तकालय पुनर्निर्माण, विश्वविद्यालय पुनर्निर्माणमा जोड दिन सुझाव दिए ।
सांसद यज्ञराज सुनुवारले पुनर्निर्माणका कार्य उत्साहजनक रूपमा अघि बढेको भन्दै पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिए । उनले निजी आवास पुनर्निर्माणमा ओखलढुंगा अग्र स्थानमा रहेको उल्लेख गर्दै एकीकृत बस्ती पुनर्निर्माणमा आकर्षण बढाउन सरकारले पूर्वधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद सुनुवारले विद्यालय राम्रा बनेकोमा प्रशंसा गर्दै खानेपानी, पुल, प्रबलीकरण, गुनासो सुनुवाइलगायतमा ध्यान दिन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस