वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४४औं साधारणसभाको शुक्रवार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गएको बताएका हुन् ।
निजीक्षेत्रले राखेका समस्या पनि विस्तारै हट्दै गएको बताउँदै मन्त्री डा. खतिवडाले उद्योगी व्यवसायीका गुनासा पनि घटिरहेको उल्लेख गरे । ‘म यसअघि वीरगञ्ज आउँदा वीरगञ्जका उद्योगी व्यवसायीले समस्याको लामो विवरण दिएका थिए । तर, त्यस्ता समस्या कमै सुनिए । यो अर्थतन्त्रमा सुधार आउनुको संकेत हो,’ उनले भने ।
सरकारले राजस्वमात्र उठाउने नीति नलिएको भन्दै मन्त्री खतिवडाले लगानीमैत्री राजस्व नीति लिएको बताए । सरकार निजीक्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने पक्षमा रहेको उनले स्पष्ट पारे । व्यवसायीलाई थुनेर राजस्व उठाउने पक्षमा नभएको मन्त्री खतिवडाको भनाइ थियो । उनले भने, ‘तर, अपराध गरेमा जो कोही पनि जेल जान भने तयार हुनुपर्छ ।’
सरकार निजीक्षेत्रमा मागप्रति सकारात्मक रहेको उनको भनाइ थियो । मन्त्री खतिवडाले निजगढ–काठमाडौं द्रुतमार्ग २०८१ सालसम्ममा निर्माण सम्पन्न हुने दाबी पनि गरे ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प निजगढको प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस