जनकपुरधाम । सडक विस्तार गर्दा बीचबाट बराबर पर्ने गरी दुवैतिरका जग्गा लिइन्छ। उपमहानगरपालिकाले रामजानकी मन्दिरमाथि भने घोर अन्याय गरेको छ- अर्कातिरका निजी घर जोगाई मन्दिरकै जग्गा मात्र काटेर।
अतिक्रमणको चपेटामा परेको प्रसिद्ध यो मन्दिर सरकारी निकायबाट जोगाउनुको साटो उल्टै अतिक्रिमित भएको छ। त्यसलाई लिएर नागरिक समुदाय आन्दोलित भएको छ। मेयर लालकिशोर साहले पूर्वतर्फ बनाइएका निजी घर नभत्काई जानकी मन्दिरकै मात्र जग्गा कटाउन निर्देशन दिएको कर्मचारीले बताए।
एकातिर मात्र काट्दा मन्दिरको ४ धुर १ कनमा जमिन बाटोमा गएको छ। जनकपुरको मुटु मानिने जानकी मन्दिर क्षेत्रमा जग्गाको चलनचल्तीको मोल प्रतिधुर २ करोडभन्दा बढी छ। निजी व्यक्तिबाट ‘प्रलोभनमा परेर’ उपमहानगरले करोडौंको जग्गा मन्दिरतर्फ मात्र प्रयोग गरेको हो।
जनकपुरधाम ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५÷२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर छ। सडक विस्तारबाट बगैंचाको बीचमा ०.७० मिटर चौडाइ पूर्व-दक्षिण कुनामा ३ मिटर तथा पूर्वउत्तरको कुनामा ४.८८ मिटर कटाइएको हो। जानकी मन्दिर ५ बिघामा फैलिएको छ।
‘पूर्वपट्टि रहेका निजी घरतर्फ ८ फिटजति जग्गा लिए मात्र दुवैतर्फ बराबर हुने थियो’, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र भन्छन्, ‘तिनलाई जोगाउन मन्दिरको जग्गा अतिक्रमण गरियो।’
प्रतिक्रिया दिनुहोस