aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको छ। प्रदेशसभामा आइतबार बिहान ९ बजेबाट सुरु भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको हो । दुईतिहाइ मतरहेको सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेका हुन् । 

यस अगाडि ३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल राजधानी कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ। मतदानमा विवेकशील साझा पार्टीको ३ मत परेको छ । साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेलमा मतदान गरेका हुन्। काभ्रेको विपक्षमा १ सय १ मत परेसँगै राजधानी अस्वीकृत भएको हो। प्रदेश सभामा रहेको ११० सांसद रहेका छन्।

प्रदेशको स्थायी राजधानीका लागि शनिबार २ वटा नाम प्रदेशसभामा दर्ता भएको थियो। प्रदेशसभामा नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको हो। 

त्यस्तै, विवेकशील साझा पार्टीका रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेर काभ्रेको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गराएका छन्।

यस अगाडि नेकपाभित्रको रस्साकस्सी र असहमतिका कारण दुई वर्षदेखि प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस