aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सभामुख पदकाे किचलाेले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
सभामुख पदकाे किचलाेले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित

काठमाडौं । आज (आइतबार) दिउँसो १ बजे बस्ने भनेर तोकिएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ ।

यसअघि ११ दिन सारेर आइतबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक अब माघ ६ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बस्ने गरी आइतबार तय भएको बैठक स्थगित भएको जानकारी दिएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रै सहमति जुट्न नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शुरु भएयता प्रतिनिधिसभाको एउटा बाहेक सबै बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

यसअघि पुस १६ गते बस्ने भनिएको बैठक अघिल्लो दिन ९पुस १५ गते० नै सूचना टाँस गरी पुस २७ गते बस्ने गरी स्थगित भएको थियो ।

कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग (बलात्कार) प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई  आफ्नो पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो ।

तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी थिइन् ।

पार्टीको निर्णयलाई नै चुनौती दिएको हुनाले शिवमायालाई बालुवाटार बोलाएको थियो । नेकपाले सभामुखको उम्मेदवार टुंग्याउन नसक्दा पुस ४ गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आइरहेको छ । पटक(पटक सर्दै आएको बैठक आज आइतबार पनि बोलाइएको छ ।

उपसभामुखले राजीनामा दिएको अवस्थामा आजको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने र सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । तर, उपसभामुखले राजीनामा नदिएको हुँदा बैंठक सूचना टाँस गरि स्थगन गरेको छ ।

उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउनुपर्ने माग गर्दै आएकी छिन् । उनले सभामुख बन्नका लागि पनि उपसभामुखबाट राजीनामा दिनुपर्ने हुन्छ । तुम्बाहाम्फेले उपसभामुख नछाडेको स्थितिमा संविधानतः सभामुख पदमा नेकपाले उम्मदेवारी दिने स्थिति नरहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस