aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अन्ततः प्रदेश ३ को नाम ‘बागमती’ राजधानी ‘हेटौंडा’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
अन्ततः प्रदेश ३ को नाम ‘बागमती’ राजधानी ‘हेटौंडा’

काठमाडौं । प्रदेश ३ को नाम बागमती र राजधानी मकवानपुरको हेटौँडा तय भएको छ ।  प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो ।

प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो । यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो । 

यस्तै प्रदेशको नाम वाग्मती राख्ने पक्षमा सबै मत खसेको छ । १ सय १० सदस्यीय प्रदेश सभामा एक जना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो । प्रदेशको नामको विषयमा कुनै पनि सांसदले विमति नजनाइकन समर्थन गरेका थिए ।

प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी पाएको छ । यससँगै नाम र स्थायी राजधानी राख्ने प्रदेशको सङ्ख्या चार पुगेको छ । अझै प्रदेश नम्बर १, २, र ५ ले आफ्नो नाम र स्थायी राजनीति तोक्न सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस