aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पाम आयल आयात प्रतिबन्ध : नेपाल भारतका उच्च अधिकारीबीच वार्ता

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, २८ पुस २०७६
पाम आयल आयात प्रतिबन्ध : नेपाल भारतका उच्च अधिकारीबीच वार्ता

काठमाडौं । भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालबाट हुने यसको निर्यातमा आएको अवरोधलाई फुकाउन दुवै देशका उच्च अधिकारीबीच छलफल भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडका अनुसार शनिवार दुवै मुलुकका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीच यसबारेमा फोनमा कुराकानी भएको हो । उनका अनुसार वाणिज्य सचिव वैकुण्ठ अर्यालले आफ्ना भारतीय समकक्षीसँग यसबारेमा टेलिफोन वार्ता गरेका छन् । वार्तामा भारतले प्रतिबन्ध खुला गर्ने आश्वासन पनि दिएको उनले बताए ।

दुगडले सो छलफल सकारात्मक भएको र आउँदो १/२ दिनमा सकारात्मक नतीजा आउने बताए । उनले भने, ‘सोमवार म आफैले मन्त्रीस्तरीय वार्ता पनि गर्दै छु । त्यसैले सोमवार बेलुकासम्म केही  नतीजा आउँछ ।’ 

भारतले गत बुधवार एक परिपत्र जारी गर्दै प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसलगत्तै बिहीवारदेखि भारतीय भन्सारले नेपालबाट हुने त्यसको निकासी रोकिदिएको छ । भारतले पाम आयलको निकासी रोकेलगत्तै नेपाल पनि प्रतिबन्ध हटाउन तयारी गरिरहेको छ । 

दुगडका अनुसार भारतीय पक्षले प्रशोधित पाम आयलको आयातमाथिको प्रतिबन्ध नेपाल लक्षित नभएको र नेपालमाथिको प्रतिबन्ध खुलाउने पक्षमा भएको बताएका छन् । भारतले दुई मुलुकबीचको वाणिज्य सन्धिमार्फत उक्त प्रतिबन्ध खुलाउने पहल गरिरहेको दुगडको भनाइ छ ।

‘नेपाललाई यसको आयात खुला गर्न पूर्ण प्रयास गरिरहेका छौं । नेपाल र हाम्रो वाणिज्य सन्धि पनि छ, त्योअनुसार पनि हामीले नेपालबाट हुने पाम आयलको आयातलाई खुला गर्नुपर्ने हुन्छ,’ भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै दुगडले बताए । 

दुगडले व्यवसायीहरूले अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । ‘वाणिज्य सन्धिअनुसार पनि हामीलाई पाम आयलको निकासी खुला गर्ने बलियो आधार  छ । साथै, वार्तामा भारतले पनि राम्रो संकेत देखाएको छ, जसअनुसार अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस