aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरू हुँदै

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २९ पुस २०७६
कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरू हुँदै

काठमाडौं । आवेदन आएको ६ महीनापछि नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज कम्पनी छनोट प्रक्रिया अगाडि बढाउन थालेको छ । बोर्डको अध्यक्ष पद रिक्त भएपछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अहिले नयाँ अध्यक्ष आइसकेपछि बोर्डले प्रक्रिया अगाडि बढाउन लागेको हो । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रवार पदभार ग्रहण गरेका थिए । 

बोर्डले कमोडिटी बजार सञ्चालन गर्न चाहने कम्पनीहरूलाई अनुमति दिन गत असारमा आवेदन खुला गरेको थियो । त्यसबेला ६ कम्पनीले आवेदन दिएका थिए । कमोडिटी एक्सचेन्ज कम्पनी छनोटका लागि ५ सदस्यीय समिति गठन गरिएको थियो । तर, ती कम्पनीको आवेदनमाथि अहिलेसम्म प्रारम्भिक अध्ययनसमेत गरिएको थिएन ।

छनोट समितिका सदस्य तथा बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले छनोट प्रक्रिया अघि बढाउने काम भइरहेको बताए । उनले भने, ‘बीचमा अध्यक्ष पद रिक्त हुँदा काम अघि बढाउन सकिएन । अहिले नयाँ अध्यक्षज्यूलाई यस विषयमा जानकारी गराइरहेका छौं । त्यसपछि व्यवस्थापन समूहसँग सहकार्य गरेर प्रक्रिया अगाडि बढाउँछौं ।’

बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले अब छिटै कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अगाडि बढाउने बताए । ‘अहिले छनोट समितिबाट यसको अवस्था र आवश्यक सूचनाको जानकारी लिइरहेको छु । छिटै छनोट प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । यद्यपि, कम्पनी छनोट गर्न कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ । तोकिएको मापदण्ड कम्पनीहरूको नपुगेको हुनसक्छ । अध्ययन गर्दा कागजपत्र थप गर्नुपर्ने हुनसक्छ । त्यसैले व्यावहारिक रूपमा यति समयभित्र लाइसेन्स जारी गर्छांै भन्ने स्थिति छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस