aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पुण्यकाे धाममा पापको घडा !

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • मंगलबार, २९ पुस २०७६
पुण्यकाे धाममा पापको घडा !

काठमाडौं । राजधानी शहर काठमाडौँ आएका हरेकको पहिलो गन्तब्य हो, पशुपतिनाथको मन्दिर । जहाँ मानिसहरु श्रद्धाले जान्छन् । पुण्य कमाउने हेतुले पाइला राख्छन् । भूलवस भएका पाप मोचानको अपेक्षा गर्छन् । 

तर, त्यही पुण्यभूमिमा पापको घडा भर्नेहरुको पनि कमी छैन । भन्ने गरिन्छ, सत्कर्म र दुष्कर्म उही सिक्काका दुई पाटाहरु हुन् । त्यसैले असल र खराब नियत भएका दुवै खालका मानिसहरु पशुपतिमा भेटिन्छन् । 

पछिल्लो समय पशुपति क्षेत्रमा भक्तजनहरुभन्दा पनि पर्यटकहरु धेरै भेटिन थालेका छन् । र, यिनै पर्यटकको हुलमा सँगै मिसिएर पाशुपति क्षेत्रमा चोर पनि भित्रिएका छन् । 

पशुपतिमा सामान चोरीको विषय नौलो होइन ।  केही न केही सामान हरायो भन्ने मानिस दिनहुँ भेटिन्छन् । मानिसहरू यस्ता घटना दिनदिनै बढ्दो मात्रामा हुने गरेको बताउँछन् । त्यहाँ पनि अन्य क्षेत्रमा चोरी हुनुलाई स्वाभाविक भन्न मिल्ला तर स्वजन देहावसानको पिंडामा परेका र काजक्रिया बसेको स्थानमा चोरी गर्नु चाँही निकृष्टताको पराकाष्ट हो । 

यस्तो स्थानमा बाहिरको मानिसले छुन नहुने, चोखो ठाउँमा बस्नुपर्ने हाम्रो धार्मिक मान्यता रहेको छ । काठमाडौँमा घर नहुने वा घरमा काजक्रिया गर्न  नचाहानेहरूले पशुपतिमा मृतकको दाहसंस्कार गरे संगै त्यही कोरो बस्ने गरेका छन् । 

बानेश्वर बुद्धनगरबाट आमाको क्रिया बस्न आएका बसन्त केसीको क्रिया बसेकै कोठाबाट बिहान लगभग ३ः३० बजेतिर मोबाइल हरायो । उनले दुखेसो पोख्दै भने ‘‘कतै ढोका पनि खोलेको छैन झ्याल पनि खोलेको छैन । चिसो भएर हिटर बालेका थियौ हिटरको हावाले सास फेर्न गाह्रौ हुन्छ भनेर भ्यान्टिलेसन खोलेका थियौ । त्यहीबाट हात छिराएर मोबाइल चोरी गरेको छ ।’ मोबाइल हराएको गुनासो पशुपति विकास कोषका अधिकारीहरु समक्ष गर्दा जवाफ आयो, ‘राति गार्ड बसेकै हुन्छ, हामीलाई थाहा छैन । आफ्नो सामानको सुरक्षा आफै गर्नुपर्छ।’ 

केसी २ नम्बरको कोठामा बसेका छन् । ‘राती मोबाइल चोर्न आउने चोर टाढाको होइन किनकि टाढाको चोरलाई मोबाइल, ल्यापटप कहाँ राखेको छ कसरी थाहा हुन्छ ?’ त्यहाँ भित्रकै मान्छेले चोरेको आशंका व्यक्त गर्दै उनले प्रश्न गरे ।  

मोबाइल चोर्ने चोरले  भोलि मानिसहरू सुतिरहेको ठाउँमा अनैतिक घट्ना नघटाउला भन्न सकिंदैन । तर, यस विषयमा पशुपति विकास कोषले लापरबाहि गरेको त्यहाँका सेवाग्राहीहरु बताउँछन् ।
 

के भन्छ कोष ?
पशुपति विकास कोषका अनुसार प्रत्येक गेटमा गार्डको व्यवस्था गरिएको छ । पशुपतिमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र कोषको गार्डले नियमित सुरक्षा र हेरचाह गरिरहेका हुन्छन् । प्रहरीले बेलाबेलामा गस्ती समेत गर्ने गरेको पशुपति विकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए । 

उनले भने ‘‘पशुपति क्षेत्रमा आवश्यकता अनुसार गार्ड राखेका छौ । रातिको समयमा गार्डले अनुगमन गरिरहेको छ भन्ने जनाउन गार्डलाई खम्बामा लाठीले हान्न लगाएका छौ । यहाँ सुत्ने मान्छेलाई डर नलागोस, सुरक्षित रहेको कुरामा आस्वस्त बनुन् र बाहिरी मान्छे आउन नसकुन भनेर त्यसो गरिएको हो ।’

मनग्गे आम्दानी तर दुर्गन्ध उस्तै 

पशुपतिमा क्रिया गरेबापत वार्षिक ६० देखि ७० लाखसम्म आम्दानी हुने पशुपति विकास कोषले जनाएको छ । आम्दानी अनुसार पशुपतिमा सरसफाइको काम भने भएको देखिंदैन । यतिसम्म कि एउटा क्रियापुत्रिले प्रयोग गरेको कपडा सफा नगरी फेरी अर्को व्यक्तिलाई प्रयोग गर्न दिने जस्ता समस्या रहेका छन् । 

सरसफाइका सम्बन्धमा पनी केसीको गुनासो देखियो । उनले भने ‘‘यहाँ चोरीको समस्यासंगै सरसफाइमा पनि समस्या रहेछ । अरूले एक चोटी प्रयोग गरेर गएको ब्ल्याङकेटहरू धोएर सफा गरेर पो अरूलाई ओढ्न दिनु पर्छ । यहाँ त एउटाले ओढेर जान्छ त्यो लगेर राख्ने र अर्को व्यक्ति आउदा पुन त्यही ओढ्न दिने परिपाटी रहेछ ।’  
पशुपति क्षेत्रमा जहाँ क्रियापुत्री बस्ने कोठाका झ्यालहरू पनि अस्तव्यस्त छन् । कतै झ्यालको सिसा फुटेको छ त किनेको चुकुल बिग्रिएको छ । 

पशुपतिमा क्रिया बस्नको लागि ४० वटा कोठा रहेको छ । त्यसमध्ये बाथरूम सहितको कोठाको दैनिक ५ सय र अरूको २ सय रूपैंया भाडा लिने गरेको कोषले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस