काठमाडौं । उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन् । पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब ५ वर्षपछि रेल विभागले कुल २२ किलोमीटरमध्ये महाराजगञ्ज–सातदोबाटो रूटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो ।
मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरू गरिने भएको छ । रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने उनले जानकारी दिए ।
उक्त मेट्रो रेल बूढानीलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ । झन्डै डेढ महीनाभित्र डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि छनोट भएका कम्पनीले प्रतिवेदन तयार गर्न काम शुरू गर्ने विभागले जानकारी दिएको छ । डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि करीब १ वर्ष लाग्ने र त्यसको अध्ययनमा करीब रू. १५ करोड बजेट आवश्यक पर्ने मिश्रले जानकारी दिए ।
मेट्रो रेलको इन्जिनीयरिङ प्रक्रिया जटिल हुने भएकाले अध्ययनमा समय तथा बजेट बढी लाग्ने विभागको भनाइ छ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप र सार्वजनिक यातायात पर्याप्त नहुँदा आवतजावतमा हुँदै आएको कष्टकर यात्रा हटाउन पनि मेट्रो रेल अनिवार्य भएको मिश्रले बताए । यसले ट्राफिक जामसमेत घटाउने भएकाले छिटै नै यो रूटमा मेट्रो रेल सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग र सहकार्यमा काम अघि बढाउने तयारी विभागको छ ।
प्रतिक्रिया दिनुहोस