काठमाडौं । उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्न नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा सुविधाबारे अब बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै कार्यविधि लागू हुने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७६’ बमोजिम आज (माघ १) देखि एउटै प्रक्रिया लागू गर्ने निर्देशन जारी गरेको छ । हालसम्म नेपाल राष्ट्र बैंक ऐनको दफा ४९ र एकीकृत निर्देशिकामा यसबारे छुट्टाछुट्टै व्यवस्था थियो ।
छुट्टाछुट्टै भएका व्यवस्थाहरूलाई एकीकृत गर्दै पुनर्कर्जा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन पहिलोपटक यस्तो कार्यविधि जारी गरिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनले भने, ‘यसअघि पुनर्कर्जा कसरी दिने भन्ने प्रक्रिया थिएन । नयाँ कार्यविधिले त्यसलाई स्पष्ट पारेकाले ऋणीलाई सहज हुनेछ ।’
कार्यविधिअनुसार बैंक वा वित्तीय संस्थाले पुनर्कर्जा सुविधा पाउन ग्राहक ऋणीसम्बन्धी विभिन्न कागजात संलग्न गरी बैंक तथा वित्तीय संस्था नियमन विभाग वा बैंकको प्रदेशस्थित कार्यालयमा आवेदन पेश गर्नुपर्छ । यसअन्तर्गत ग्राहक ऋणीले पुनर्कर्जा सुविधाको लागि पेश गरेको निवेदन, कम्पनी दर्ताको प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, कम्पनीको लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
साथै, आर्थिक वर्ष सकिएको ६ महीनासम्म आवेदन दिँदा गत आवभन्दा अघिल्लो आवको कर चुक्ता प्रमाणपत्र भए हुनेछ । कम्पनीसम्बन्धी कर्जा सूचना केन्द्रको विवरण, कायम ब्याजदर देखिने प्रतिवेदन, निर्यातसम्बन्धी कागजात (निर्यात पुनर्कर्जाको हकमा), निर्यातका लागि खरीदकर्तासँग भएको करार वा सम्झौतासम्बन्धी कागजात लगायत पेश गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस