काठमाडौं । आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।
तरुल गत वर्षभन्दा थोकमै ३१ प्रतिशत महँगो
वर्ष माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा ३१ प्रतिशतसम्म महँगिएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार बजार व्यवस्थापन समितिका अनुसार गत वर्षको सङ्क्रान्तिमा प्रतिकेजी ४२ देखि १०० रुपियाँ थोकमा कारोबार भएको तरुल यस वर्ष बढेर ५५ देखि १५० रुपियाँ पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष माघेसङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ । समितिका अनुसार सामान्य तरुल ५५ रुपियाँ, वन तरुल १२० रुपियाँ हात्तीपाइले तरुल १२० रुपियाँ र सिमल तरुल प्रतिकेजी १५० रुपियाँ थोकमा कारोबार भइरहेको छ ।
समितिका अनुसार माघेसङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ । यस वर्षको माघेसङ्क्रान्तिलाई लक्षित गरेर पिँडालु १३० टन, सख्खरखण्ड १५० टन भित्रिएको छ । माघेसङ्क्रान्तिलाई तरुलको पर्वका रूपमा लिने भएकाले यस समयमा तरुलको बिक्री अत्यधिक हुने गरेको हो । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु गरिएको छ । सङ्क्रान्तिमा तरुल खाएपछि चिसो आफैँ हटेर जाने जनविश्वास पनि रही आएको छ ।
प्रतिक्रिया दिनुहोस