काठमाडौं । नवनियुक्त नेपाल धितोपत्र बार्डका अध्यक्ष भिष्मराज ढुंगानाले बजारको अवस्थाबारे जानकारी दिएका छन् । बोर्डको जावलाखेल कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ढंगानाले बजारको अवस्था बारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा ढुंगानाले बोर्डको अध्यक्ष पदमा कार्यभार सम्हालेको ६ दिनपछि धितोपत्र बजारको ६ महिनाकै अवस्थाबारे जानकारी दिए ।
ढुंगानाले आव २०७६/७७ को प्रथम ६ महिनाको धितोपत्रको प्राथमिक बजारको अवस्था मिश्रित देखिएको बताए । अध्यक्ष ढुंगानाले यस अवधिमा १६ संगठित संस्थाले २० अर्ब रुपियाँ बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेको बताए । अघिल्लो आवको सोही अवधिको तुलनामा यो तथ्याङ्क २१.२ प्रतिशतले बृद्धि हो ।
समीक्षा अवधिमा सार्वजनिक निष्काशन अनुमति प्राप्त रकम मध्ये १६.५ अर्ब रुपियाँ ऋणपत्र निष्काशनले ओगटेको छ । यो कूल रकमको ८३ प्रतिशत हो । नेपाल राष्ट्र बैंकले क वर्गका बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋण पत्र निष्काशन गर्नु पर्ने व्यवस्था गरेसँगै प्राथमिक बजार मार्फत ऋण पत्र निष्काशनमा बृद्धि देखिएको हो ।
बीमा तथा लघुवित्त कम्पनीहरुले हकप्रद निष्काशन मार्फत पूँजी बृद्धि गरेसँगै हकप्रद शेयर निष्काशनमा बढोत्तरी आएको छ । यस अवधिमा ७ सूचीकृत कम्पनीहरुले २.२ अर्ब बराबरको हकप्रद निष्काशनका लागि अनुमति लिएका छन् । बोर्डमा ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपियाँ बराबरको बोनस शेयर दर्ता गरेका छन् ।
जुन अघिल्लो आवको तुलनामा ३४.९ प्रतिशतले बृद्धि हो । दोश्रो बजारको अवस्था नेप्सेमा सूचीकृत संख्या बृद्धि भई २१२ पुगेको छ । समीक्षा अवधिमा कूल ३२.५१ अर्ब बराबरको धितोपत्र कारोबार भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.८ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस