aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

२०४८ का भूमिसुधार तथा व्यवस्थामन्त्रीले सार्वजनिक खोला व्यक्तिको नाममा दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
२०४८ का भूमिसुधार तथा व्यवस्थामन्त्रीले सार्वजनिक खोला व्यक्तिको नाममा दर्ता

काठमाडौं । २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।

आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे ।

जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए । भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख छ ।

जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ । कित्ता नम्बर ११२१ को जग्गा भने सरकार वा व्यक्ति कसको नाममा गरिएको भन्ने कार्यालयको ढड्डाबाट स्पष्ट खुल्दैन । नापी कार्यालय भक्तपुरले कित्ता नम्बर ११२१ को नक्सा भए पनि सो जग्गा खोला वा व्यक्तिको नाममा रहे–नरहेकोबारे स्पष्ट नभएको जनायो ।

खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । चार वर्षपछि कित्ता ११२० को १७ रोपनी १४ आनालाई बराबर दुई टुक्रा लगाएर कित्ता ११३० र ११३१ मा आठ रोपनी १५ आनाका दरले बनाए । उनले ५ असार ०३५ मा कित्ता ११३१ श्रीमती विमला उपाध्याय ९मालपोतको रेकर्डमा बिमली० र कित्ता ११३० शिवबहादुर उप्रेतीको नाममा रजिस्ट्रेसन गराए ।

त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरैपटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको छ । हनुमन्ते खोला धार परिवर्तन गरेर अहिले व्यक्तिका निजी जग्गामा बगिरहेको छ ।

तर, आचार्यले अतिक्रमण गरेको खोलाको जग्गामा भने घरहरू बनिसकेका छन् । कतिपय ठाउँमा प्लटिङ भएका छन् । कतै कृषि उपार्जनका लागि टनेलहरू बनेका छन् । मालपोत कार्यालय भक्तपुरको ढड्डा पल्टाउँदा सो क्षेत्रमा अहिले आचार्यका कुनै पनि पारिवारिक सदस्यको नाममा जग्गा देखिँदैन । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस