aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

केन्द्रीय बैंकको कडाइपछि अर्थमन्त्री गुहार्दै नाडा

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०२ माघ २०७६
केन्द्रीय बैंकको कडाइपछि अर्थमन्त्री गुहार्दै नाडा

काठमाडौं । नेपाल राष्ट्र बैंककोे पछिल्लो नीतिगत व्यवस्थाले अटोमोबाइल व्यवसाय नराम्ररी प्रभावित बनेपछि त्यसमा सुधारका लागि नेपाल अटोमोबाइल डिलर्स एसोशिएशन (नाडा)ले अर्थमन्त्री डा. युवराज खतिवडालाई गुहारेको छ । 

बुधवार नाडाको अध्यक्षसहितको टोलीले अटोमोबाइल व्यवसाय सुस्ताउँदै गएको बताउँदै नीतिगत सुधारको आग्रह ग¥यो । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा प्रवाहमा कडाइ गरेपछि र डाउन पेमेन्टको सीमा बढाएपछि बैंकबाट कर्जा प्रवाह हुन नसकेको तथा त्यसको असर गाडीको विक्रीमा परेको नाडाको भनाइ छ । नेपालमा अधिकांशले बैंकबाट नै सवारीसाधन कर्जा लिएर सवारीसाधान किन्ने गरेकोमा राष्ट्र बैंकको पछिल्लो नीतिले बैंकबाट कर्जा प्रवाहमा समस्या आएको अटोमोबाइल व्यवसायीहरूको भनाइ छ । 

राष्ट्र बैंकले व्यक्तिगत कर्जा प्रवाहमा अनिवार्य रूपमा कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने र ऋण भुक्तानी आम्दानी अनुपातको सीमा ५० प्रतिशत हुनुपर्ने नीति ल्याएको छ । यो व्यावहारिक रूपमा कठिन हुने कथन बैंकर्सहरूको पनि छ । नाडाका अध्यक्ष कृृष्णप्रसाद दुलालले अटोमाबाइल क्षेत्र धराशयी हुने गरी विभिन्न निकायबाट ल्याइएको नीति परिमार्जन गर्न अर्थमन्त्रीसँग आग्रह गरेको बताए । ‘हामीले अर्थमन्त्रीसँग डाउन्ट पेमेन्टको सीमा घटाउने, अन्तःशुल्क हटाउने, राष्ट्र बैंकको नीति अटोमोबाइल व्यवसाय मैत्री बनाउनेलगायत विषयमा छलफल गरेका छौैं,’ दुलालले बताए, ‘उहाँ हाम्रो मागमा सकारात्मक देखिनु भएको छ ।’

अर्थमन्त्रीले अटोमोबाइल क्षेत्रलाई प्रवर्द्धन गर्न नतीजामूलक काम गर्ने बताएको दुलालले आर्थिक अभियानलाई बताए । ‘उहाँ (अर्थमन्त्री)ले नीतिगत सुधार गर्ने बताउनुभएको छ,’ दुलालले भने । 

केन्द्रीय बैंकले व्यक्तिगत कर्जामा कडाइ गरेसँगै बुकिङ भइसकेका गाडी पनि नबिकेको अटोमोबाइल व्यवसायीको भनाइ छ । पछिल्लो २ महीनामा प्यासेन्जर कारको विक्री ६० प्रतिशतले घटेको नाडाका सचिव अनुप बरालले बताए । उनका अनुसार कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने नीतिका कारण कमर्शियल भेइकलमा पनि प्रभाव पर्न थालेको छ । 

अर्थमन्त्रीसँगको भेटमा फेयर ट्रेड, सवारीसाधन तथा स्पेयर पाटर््सको आयातमा देखिएका समस्याका बारे छलफल भएको थियो । छलफलमा अर्थमन्त्री खतिवडाले अटोमोबाइल स्पेयर पार्ट्सको अवैध व्यापार रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्ट्स पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताएका थिए । उनले विद्युतीय सवारीसाधनलाई सरकारले उच्च प्राथमिकता दिने बताउँदै अटो लोनलाई पनि प्रणालीगत रूपमा स्थापित गर्ने बताए । नाडाले राष्ट्र बैंकको पछिल्लो निर्देशन संशोधन गर्नुपर्ने बताउँदै गत साता नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पनि भेटघाट गरेको थियो । 

प्रतिक्रिया दिनुहोस