aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अर्थतन्त्र किन ओरालोतिर ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, ०२ माघ २०७६
अर्थतन्त्र किन ओरालोतिर ?

काठमाडौं । सन् २०२० भर्खरै सुरु भएको छ। २० को दशकमा नेपालले आर्थिक विकासको छलाङ मार्ने लक्ष्य राखेको छ। पहिलो खुड्किलो सन् २०२२ मा अल्पविकसित देशबाट विकासशील राष्ट्रमा रूपान्तरण हुनु पर्नेछ। सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य छ। मध्यम आय भएको मुलुकका लागि न्यूनतम प्रतिव्यक्ति आय कम्तीमा ३ हजार ९ सय ५६ अमेरिकी डलर अर्थात् अहिलेभन्दा तेब्बर बढाउनु पर्नेछ।

आर्थिक विकास र समृद्धिको नारा दिएको सरकारले आउँदो तीन वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। पछिल्लो तीन आर्थिक वर्षमा लगातार उच्च आर्थिक वृद्धिदरको आसपासको आर्थिक वृद्धिदर भेट्टाउन सफल रहेको सरकारले यही आधारमा १० अंक र सो माथिको आर्थिक वृद्धिदरको कल्पना गरेको देखिन्छ।

आर्थिक वृद्धिदरमा भने यसै आर्थिक वर्षमा ‘ब्रेक’ लाग्ने देखिएको छ। राष्ट्रिय योजना आयोगले पहिलो त्रैमासिकको कुल गार्हस्थ उत्पादनको वृद्धिदरका आधारमा गरेको अनुमानले यो वर्ष मात्र ४.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनेछ। यो आर्थिक वृद्धिदर नेपालले राजनीतिक संक्रमणको समयमा प्राप्त भएको थियो। जुन समयमा सरकारको बजेटसमेत समयमा आउँदैनथ्यो।

कर्जा विस्तारमा ‘ब्रेक’

अर्थतन्त्रको विस्तारका लागि लगानी, उत्पादन, रोजगारी र उपभोग बलियो हुनुपर्छ। सरकारी होस् या निजी लगानी दुवै घटेको छ। गत वर्षभन्दा पनि कम। घरायसी क्षेत्रको उपभोग घटाउने नीति सरकारले बताइरहेको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा सरकारले पद्धति निर्माण गर्न खोज्नु आफैंमा राम्रो भए पनि कतिपय नीति प्रत्युत्पादक भएको बताउँछन्। यस वर्ष बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जासमेत घटेको छ। यसले निजी क्षेत्रको विस्तार नभएको देखाउँछ। वाणिज्य बैंकहरूको संगठन, नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा दुई खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो।

सुस्त सरकारी खर्च

सरकारको खर्च गत वर्षभन्दा कमजोर देखिएको छ। चालु वर्षको आधा अवधि बितेको छ। यो अवधिमा पुँजीगत खर्च (विकास निर्माण खर्च) कुल विनियोजित ४ खर्ब ८ अर्बमध्ये १३.७२ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। विकास निर्माण हुन नसकेर निर्माण सामग्री उद्योग सुस्त छन्। पूर्वाधारको ठूलो खाडल छ।

राजस्व असुलीमा धक्का

चालु वर्षको सुरुदेखि नै आयातमा कमी तथा मदिरा उद्योगप्रति सरकारले लिएको नीतिका कारण राजस्व असुलीमा धक्का लागेको छ। पहिलो ६ महिनामा सरकारले ५ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा पहिलो ६ महिनामा राजस्व लक्ष्य र असुलीको खाडल १ खर्ब (एक सय अर्ब) रुपैयाँ नाघेको छ।

विप्रेषण आप्रवाहमा कमी

नेपालको बाह्य क्षेत्र स्थायित्वको प्रमुख स्रोत विप्रेषण (रेमिट्यान्स) आप्रवाह नकारात्मक देखिएको छ। चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा जानेको संख्या ५.६ प्रतिशतले बढोत्तरी भएको छ। तर, रेमिट्यान्स भने अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा २.३ प्रतिशतले घटेको छ। गत वर्ष पहिलो चौमासिकमा ३ खर्ब १२ अर्ब रेमिट्यान्स आएको थियो। जबकि यो वर्ष सोही अवधिमा ३ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

उपभोगमा कमी

नेपाल राष्ट्र बैंकले सवारी र घरजग्गा कर्जामा कडाइ गरेपछि सवारीसाधन र रियलस्टेट कारोबारमा कमी आएको छ। विगत वर्षहरूमा पुनर्निर्माणको कामले निर्माण सामग्रीको बजार बढेको र सरकारको अनुदानसँगै आवास पुनर्निर्माणले व्यक्तिगत खर्चलाई समेत उत्प्रेरित गर्दा बजारमा नगद प्रवाह बढेको थियो। यस वर्ष भारतमा मूल्यवृद्धि भएसँगै नेपालमा पनि त्यसको असर देखिएको छ।

प्रतिक्रिया दिनुहोस