काठमाण्डौं । उद्योगीले माघ ७ भित्र सबै रकम भुक्तानी गरिसक्ने सरकारसँग सम्झौता गरे पनि सवा अर्बमध्ये उखु किसानले करिब १४ करोड रुपैयाँ मात्रै पाएका छन्।
भुक्तानीको समय सकिन ५ दिन मात्रै बाँकी छ। महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले न्यून मात्रामा भुक्तानी गरे पनि अन्यले नदिएको नेपाल उखु उत्पादक महासंघले जानकारी दिएको छन।
‘महालक्ष्मीले करिब ११ करोड २१ लाख र अन्नपूर्णले करिब २ करोड रुपैयाँ भुक्तानी गरेको छ,’ महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘अन्यको हकमा कुनै प्रगति छैन।’
महालक्ष्मीले २१ करोड ४० लाख र अन्नपूर्णले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।
उखुको रकम नपाएपछि भुक्तानी माग्दै किसान राजधानी आएका थिए। भुक्तानी नगर्दा जग्गा लिलाम हुने अवस्थामा पुगेका उनीहरुले पुस ७ मा अन्नपूर्ण मिलको केन्द्रीय कार्यालय घेरेका थिए। माग सम्बोधन नभएपछि उनीहरु माइतीघर मण्डलमा धर्नामै बस्नुपरेको थियो।
करिब दुई साता लामो आन्दोलनपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानसँग वार्ता गरी पाँचबुँदे सहमति गरेका थिए। सहमतिमा माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने उल्लेख थियो।
‘पुस अन्तिममा ८० प्रतिशत र माघ पहिलो साता सबै चुक्ता गर्नपर्ने सहमति थियो,’ उनले भने, ‘तर भुक्तानी प्रक्रिया सन्तोषजनक छैन।’
महालक्ष्मीले करिब ८० प्रतिशत भुक्तानी गरेपछि उखु क्रसिङ सुरु गरेको छ। अन्नपूर्ण र श्रीरामले भुक्तानी नगर्दा क्रसिङ पनि गर्न सकेका छैनन्। ‘श्रीरामको अवस्था पनि त्यस्तै छ। किसानको उखु सुकेर बसेको छ,’ मैनालीले भने, ‘काट्न जानेलाई समेत पैसा दिएको छ।’
प्रतिक्रिया दिनुहोस