aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सत्तारुढ कामरेडहरु यही हो शहिदको सम्मान ?

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शुक्रबार, ०३ माघ २०७६
सत्तारुढ कामरेडहरु यही हो शहिदको सम्मान ?

काठमाडौ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माघ १ गते टुँडिखेलमा एक महत्वपूर्ण जिम्मेवारीबाट टक्टकीए, ‘राज्यले १२ हजारको ज्यानको जिम्मा लिन्छ भने म ५ हजारको लिन तयार छु ।’  नेपालको लोकतान्त्रिक आन्दोलनको क्रममा तत्कालिन राज्य र विद्रोही पक्षका निशानामा परेर शहादत प्राप्त गरेका शहिदहरुको जिम्मेवारीको हानाथापको पछिल्लो प्रमाण हो, यो ।

यसबाट प्रष्ट्र हुन्छ, हाम्रा नेताहरुले शहीदलाई सम्मान गर्ने कुरालाई केन्द्रमा राखेका छैनन् । उनीहरुले त्यो तथ्य बिर्सिसके जुन बि.स. २०१९ सालमा नै कविता मार्फत भूपी शेरचनले प्रकट गरेका यी शब्दहरु अहिले हाम्रा नेतागण र राज्यको सुबिधा भोग गरिरहेका नीति निर्माता बाहेक सबै नेपालीको मानसपटलमा ताजा छ :

‘हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए’ 

यही माघ १० गतेदेखि शहिद सप्ताह शुरु हुँदैछ । शहिदको नाममा १६ गतेसम्म अनेकौं कर्मकाण्डी गतिविधिहरु हुने निश्चित छ । त्यो एक हफ्तामा शहिदको नाममा राज्यकोषबाट कती खर्च हुने हो थाहा छैन । तर, नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र शहिदको सम्मान गर्ने कुरामा कति उदाशीन छ भन्ने बुझ्न  गोकर्णमा सरकारले निर्माण गर्न लागेको राष्ट्रिय सहिद स्मारकको काममा देखिएको लथालिंग हेर्दा हुन्छ । 

१३ वर्षमा बल्ल आधाकाम 
शहिदहरू प्रति श्रद्धाञ्ली अर्पण गर्ने र उनीहरुको योगदानको कदर स्वरूप सामुहिक स्मारक निर्माण गर्ने भन्दै बि.स. २०६४ जेठ ११ गतेबाट गोकर्णमा शहिद पार्क निर्माणको थालनी भएको थियो । त्यसबेलाको निर्माण ठेक्का हेर्ने हो भने उक्त पार्कको काम २०७३ बैशाख १ गते सम्पन्न गरी हस्तान्तरण गर्नु पर्ने थियो । तर २०७६ सालको अन्त्य सम्म आइपुग्दा समेत त्यसको आधा मात्र  काम सम्पन्न भएको राष्ट्रिय शहिद तथा शान्ति पार्कका महासचिव त्रिलोचन पौडेलले बताएका छन् । 

गोकर्णको डाँडोमा जम्मा ६ सय ५० रोपनी जग्गामा बनाउन लागिएको शहिद पार्क निर्माणका लागी ४२ रुपयाँ करोड रकम छुट्याइएकोमा ३२ करोड खर्च भईसकेको पौडेलले जानकारी दिए । 

शहिद पार्कमा बनेका केही संरचना पनि अधुरा नै छन् । बरिपरि लगाएको पर्खाल भत्किएकोले पुर्ननिर्माण गर्नुपर्ने भएको पौडेल बताउँछन् । यसरी एउटा संरचना पटक पटक निर्माण गर्दा फेरी करोडौ अतिरिक्त खर्च लाग्नेमा उनि चिन्तित देखिन्छन् । 

सहिद पार्क निर्माण शान्ति तथा पुननिर्माण मन्त्रालयले थालनी गरेको थियो तर सो मन्त्रालय खारेज भए पश्चात उक्त कामको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागको काँधमा आएको छ । 

२०७३ सालमा संघीय चुनावपछि उक्त कामको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिईएको छ । शहिद पार्क निर्माणको जिम्मा लिएको विभागले हालसम्म यसको काम नै शुरू गरेको छैन । 

हालसम्म सचिवालय पदाधिकारी कक्ष, संग्रालय, शान्ती स्तम्भ, मुख्य प्रवेशद्वार र थुन्चा स्मृति जस्ता संरचना निर्माणको सामान्य कामसम्म भएको पौडेलले बताए । 

यस्तो थियो मास्टर प्लान 
पार्कलाई ४ भागमा विभाजन गरिएको छ  भने निर्माण कार्यलाई भने पाँच भागमा बाँडिएको छ । ७२ रोपनीमा स्मृति क्षेत्र रहने छ । त्यसमा १८ मिटर अग्लो शान्ति पिरामिड राख्ने योजना रहेको थियो । 

त्यो पिरामिडभित्र मण्डला र बुद्धको प्रतिमा रहनेछ । पिरामिडको टुप्पो राति प्रज्वलित हुनेछ । उक्त भागमा संग्रहालय, निजामती कर्मचारी स्मारक र शान्ति स्तूप रहनेछन् । संग्रहालयलाई भने अर्धभूमिगत बनाइनेछ । जसमा आन्दोलनका तस्बिर, चित्र र मध्य भागमा ठूलो घण्टा रहनेछ । 

दोस्रो भागमा मनोरञ्जन क्षेत्र तोकिएको छ । १ सय ७२ रोपनीमा घुन्सा घटनामा मृत्यु भएकाहरूको सालिक र वरिपरि बगैँचा निर्माण गरी विभिन्न प्रजातिका फूल तथा बोटबिरुवा रोप्ने, पिकनिक स्थलका साथै मृगस्थली बनाउने भनिएको छ । 

तेस्रो भागलाई संस्थागत क्षेत्र नाम राखिएको छ । त्यसका लागि ५२ रोपनी जग्गा छुट्याइएको छ । त्यहाँ रेस्टुरेन्ट तथा बहुउद्देश्यीय हल, सामुदायिक पसल तथा पार्क व्यवस्थापनको कार्यालय, सामुदायिक भवन, सीप विकास तालिम केन्द्र, अध्यापन केन्द्र रहनेछ ।

चौथो भागमा मूर्तिस्थल, शहिद पार्क, शान्ति स्तुपा, चैत्यहरु तथा बगैँचा बनाइने छ । त्यसैगरी पाँचौं प्याकेजमा पिकनिक स्पट, भ्यूटावर, खानेपानी, तारबार, आन्दोलन पार्क, टिकटघर, भजन मण्डली आदि बनाइने पार्क निर्माण तथा व्यवस्थापन समितिका महासचिव पौडेलले जानकारी दिएका छन् । 

पाँच प्याकेजको काम 
शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत कुल ४६ करोड ७१ लाखको बजेटमा निर्माण हुन लागेको यो सहिद तथा शान्ति पार्क पाँचवटा प्याकेजमा काम थालिएको छ ।

जसमा स्मारकको ६५० रोपनी क्षेत्रफलमध्ये १५ रोपनीलाई धार्मिक क्षेत्र, सहिदको स्मृति ७२ रोपनीमा, १७२ रोपनीमा मनोरञ्जन क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र र ३३९ रोपनीमा संरक्षित क्षेत्र गरी गुरुयोजना निर्माण गरिएको थियो । 

बनभोजको पैसा उठाउन ११ कर्मचारी 
शहिद पार्कमा हाल ११ जना कर्मचारी रहेकाछन् । उनीहरूलाई शहिद पार्कको हेरचाहको लागि खटाइएको छ । तर कर्मचारी भए अनुसार उक्त पार्क निर्माणको काम भने  अगाडि बढ्न सकेको छैन । उनीहरुको काम भनेको बनभोज गर्न आउनेको व्यवस्थापन गर्नु र पैसा असुल्नु मात्र रहेको छ ।

त्यस स्थानमा बनभोज गरेबापत ३ हजार रूपैया लिने गरिएको छ । त्यसरी पनि यस पार्कबाट वार्षिकरूपमा  १२ देखि १३ लाखसम्म उठ्ने गरेको पौडेलले बताए । उक्त पार्कबाट उठाएको रकम त्यहाँकै कर्मचारीको खातामा रहने र कर्मचारीलाई त्यसैबाट तलब खुवाउने गरेको पौडेलको भनार्इ छ । 

शहिद पार्कमा सुरूमा कर्मचारीको तलब भनेर सरकारले वार्षिक ११ लाख दिने गरेको र हाल उक्त रकम बन्द गरेको हुनाले त्यही पार्कबाट शुल्कलिई त्यहीका कर्मचारीलाई तलब स्वरूप पैसा दिने गरेको पौडेलले बताए । सहिद पार्क भित्र जानको लागि विद्यार्थीलाई १० र अन्यलाई २० रूपैयाँ टिकट शुल्क लाग्ने गरेको छ । 

सहरी विभागको योजना 
सहरी विकास तथा भवन निर्माण विभागले २०७३ सालबाट जिम्मा लिएको उक्त पार्कको काम भर्खर सुरू गर्ने भएको छ । १० वर्ष अगाडि देखिको पुरा हुन नसकेको काम असारसम्ममा पुरा गर्ने शहरी तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर मताकाजी मर्हजनले जानकारी दिए । 

उनले भने, ‘‘हामीले पुराना बाँकी रहेको काम गर्न नयाँ कन्ट्याक्टरलाई जिम्मा दिएका छौ । यसको लागि ५० लाख बजेट विनियोजन गरेका छौ ।’  असारसम्ममा पुराना काम सकेपछि मात्र नयाँ कामको थालनी गर्ने उनको भनार्इ छ । 

शहिदको कन्तबिजोग 
एकातिर सत्तारुढ दलको शिर्ष नेतृत्व शहिदप्रति उदाशीन छ भने उता शहिदको सम्झना दिलाउने पार्कको कथा यस्तो छ । उनीहरुले के को लागि जीवन उत्सर्ग गरे,  आम शहिद परिवार यो प्रश्नको जवाफ खोज्दैछ । नेपालको राजनीतिक परिवर्तनको लागी जीवन आहुति गरेकाप्रती श्रद्धा अर्पण गर्न चाहने जनताहरु पनी आफ्नो वर्तमान हेरेर उनै भूपी शेरचनको कविताको यो हरपल सम्झन बाध्य छन् -'मरेर सहिद हुनेहरु हो , जिएर त हेर जिउन झन् गारो छ ।'

प्रतिक्रिया दिनुहोस